• २०८१ बैशाख २१ शुक्रबार

नेपालले अरुको निर्देशनमा लिपुलेक सडकको विरोध गरेको छ - भारतीय सेना प्रमुख

kharibot

काठमाडौँ । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले अरू कसैको निर्देशनमा आपत्ति जनाएको बताएका छन ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक  द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले  कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताउदै नाम उल्लेख नगरिकन चीनको निर्देशनमा नेपालमा विरोध भएको दाबि गरेका हुन् ।

उनले भने, ' यसमा मैले कुनै विरोधाभाष देखेको छैन । कालापानीपूर्वको भू-भाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ, नेपालीहरू केका लागि विरोध गरिरहेका मैले बुझ्न सकेको छैन ।’

उनले त्रिपक्षीय जक्सन (नेपाल, भारत र चीनको) कहाँ हुनुपर्छ भन्ने मुद्दा बाँकी रहेको बताउदै नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्ने प्रतिक्रिया दिए ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता  धार्चुलाबाट मानसरोवर जोड्ने  सडकको ट्र्याकको उद्घाटन गरेका थिए ।

उपयुक्त मञ्चमा धारणा राख्छौँ : नेपाली सेना

नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ । 

उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकताअनुरुप नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढङ्गबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जानकारी दिए । 

भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी)लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभाष नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो । 

भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ । 

यसअघि भारतले नेपालको उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेकामा नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दलले उक्त नक्सा सच्याउन भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै