• २०८१ बैशाख १६ आइतबार

कपुर –एक बजुको आत्मकथा

kharibot

सुरजलाई लिएर मेरो मन अति नै विचलित भइरहेको थियो । मलाई उठ्दा बस्दा हरेक समयमा उसकै यादले सताउन थालेको थियो । त्यो प्रेम थियो या विपरीत लिङ्गी आकर्षण मैलै खुट्याउन सकिरहेकी थिइनँ । तर मेरो हालत भने दिन प्रतिदिन झन् झन् विचलित हुँदै गइरहेको थियो । मनको त्यो दुबिधा म कसलाई भनूँ भनेर सोच्दै थिए तर सही उत्तर दिने व्यक्तिको कमिले पनि म त्यो दुबिधा कसैलाई भन्न पनि सकिरहेकी थिइनँ ।

हामी दुई दिदी बहिनी जुम्ल्याहा थियौँ । मेरी बजुले मेरो नाम वरदा र बहिनीको नाम मोक्षदा भनेर राखिदिनुभएको थियो । मैले एक दिन बजुलाई सोधेको थिएँ, “बजु तपाईँले हाम्रो नाम कसरी राख्नु भएको ” भनेर । बजुले उहाँको आफ्नो नाम मञ्जुश्री भएकोले दुई दिदी बहिनी जन्मिएपछि उहाँले मञ्जुश्रीको दुई शक्ति वरदा र मोक्षदा हाम्रो नाम राख्नु भयो । बजुले मलाई भन्नु भएको थियो, “तिमी चैँ मलाई बर दिने वरदा र अर्की सानी चैँ मलाई मोक्ष दिने मोक्षदा हौ बुझ्यौ ।” हाम्रो नामकरणको बारेमा सम्झिँदा मलाई अचानक बजुको याद आयो । मेरो मनको ऊहापोह सायद बजुले पो सुल्झाई दिनुहुन्छ कि भन्ने मेरो मनमा आशा पलायो ।

संयोगले एक साँझ घरमा म र बजु मात्र थियौँ, मैले त्यही साँझ बजुसँग आफ्नो मनको कुरा बेलिबिस्तार लगाएँ । मैले बजुलाई सोधेँ, “बजु प्रेम के हो ?”

मेरो प्रश्नमा बजु एक छिन् गम्भीर हुनु भयो र मलाई हेर्दै सोध्नु भयो, “वरदा, तिमी पनि कसैलाई प्रेम गर्न लागिछौ छैनौँ ?”

मेरो अनुहार रातो भयो र लाजले शिर निहुराएँ । तब बजुले मेरो चिउँडो उठाउँदै भन्नु भयो, “वरदा, मानिसमा संवेदना हुन्छ, यसैले मानिसलाई पशुभन्दा अलग बनाउँछ । यही संवेदनाले मानिस हरेक चिजलाई माया गर्छ, निर्जीव बस्तुसँग पनि आत्मीय लगाव राख्नुको कारण यही संवेदना नै हो । यही संवेदनाका कारण मानिस एक अर्कालाई प्रेम गर्छन् । तर आलोकाँचो ज्ञानले गर्दा कुन माया हो, कुन शारीरिक आकर्षण हो र कुन आत्मिक प्रेम हो भनेर खुट्याउन सक्दैन र धोका खान्छ ।”

म बजुको कुरा ध्यानले सुनिरहेको थिएँ, बजु भन्दै हुनुहुन्थ्यो, “यौवनको सुरुवातमा विपरीत लिङ्गीसँग एक आकर्षण जन्मन्छ, कोही राम्रो लाग्छ, मन पर्छ तर त्यो प्रेम हैन, शारीरिक मोह हो फिजिकल इन्फ्याचुसन या अट्राक्सन मात्र हो ।”

“अनि माया ?”

“मायाको विभिन्न रूप हुन्छ वरदा । आमा बाबुको माया, दाजुभाइको माया, दिदी बहिनीको माया, पति पत्नीको माया यी सबै माया नै हुन् । अरू त अरू, घरमा पालेका जनावरसँग पनि माया हुन्छ । तर यो मायामा पनि कतै न कतै भित्री स्वार्थ लुकेको हुन्छ, प्राप्तिको चाहना लुकेको हुन्छ र यिनै स्वार्थ, र चाहना नपाउँदाको असफलतामा थुप्रै घटनाहरू हुन जान्छन् ।”

“माया पनि फरक फरक हुन्छ र बजु ?”

“हुन्छ वरदा, मानिस सदैव एउटा यस्तो व्यक्तिको खोजीमा हुन्छ जसलाई उसले आत्मादेखि नै माया गर्न चाहन्छ, ऊ बाट आत्मादेखिकै माया चाहन्छ । मानिस एक अर्कालाई मन पराउँछन्, माया गर्छन् र सम्बन्ध गाँस्छन्, तर यदि त्यो माया आत्माले खोजिरहेको आत्मिक माया होइन रहेछन् भने दुर्घटना हुन्छ । यस्तोमा या त सम्बन्ध विच्छेद गर्छन् या त जीवनभर सम्झौता गरेर असन्तुष्ट हुँदै बाँच्छन् । यसैले वरदा पहिले तिमी बिचार गर, यदि तिमीले चाहेको व्यक्ति तिम्रो आत्माको रोजाइ हैन भने, तिम्रो प्रेम आत्मिक प्रेम हैन भने त्यो केवल माया मात्र हुन जान्छ, यसमा अगाडि बढ्नु भनेको आफैलाई धोका दिँदै जानु पनि हो ।”

“अनि आत्मिक प्रेम हो कि हैन भनेर कसरी छुट्ट्याउने बजु,?” मैले सोधेँ । उहाँ फिस्स हाँस्नु भयो र मेरो अनुहारमा हेर्न थाल्नु भयो ।

“के हेर्नु भएको बजु ?” मैले सोधेँ ।

“वरदा, के तिमीलाई ऊ एक छिन् नदेख्दा छटपटी हुन्छ ? उसको अनुहार हरेक क्षण आँखा अगाडि आई रहन्छ ? उसको नाम ऊ बारेको बिचार तिम्रो मस्तिष्कमा रुमल्ली रहन्छ ? उसलाई लिएर तिम्रो हृदयमा एक भुल्का गाँठो परिरहन्छ ? त्यो भुल्का छातीबाट फुत्त निस्केला जस्तो हुन्छ ? यदि ऊ नै तिम्रो आत्मिक प्रेम हो भने तिम्रो रामरोममा ऊ बस्न पुग्दछ, उसको खुसीको लागि तिमी जे गर्न पनि तयार हुन्छ्यौ । मान्छेलाई सबैभन्दा प्यारो आफ्नो ज्यान हुन्छ तर आत्मिक प्रेमीको लागि यही ज्यान पनि समर्पण गरूँ जस्तो लाग्छ । तिमी आफैलाई भन्दा उसलाई प्रेम गर्न थाल्दछौ भने सम्झ यो आत्मिक प्रेम हो ।”

मलाई बजुको कुरा अनौठो तर सत्य लागिरहेको थियो । आकर्षण, माया र आत्मिक प्रेमको यति सुन्दर व्याख्या मैल पहिलो पटक बजुबाटै सुनेको थिएँ । त्यस दिन मैले बजुको कुराहरूबाट आफ्नो र सुरजको प्रेमलाई दाँजेको थिएँ । एक दिन सुरजले भनेको थियो, “वरदा, म जति व्यस्त भए पनि तिम्रो आवाज सुन्नको लागि मात्र पनि फोन गर्ने गर्छु । वरदा, मैले कहिल्यै तिम्रो रूप हेरिनँ, गुण हेरिन, कमीकमजोरी हेरिनँ, तिम्रो यौवनले पनि मलाई आकर्षित गरेन । यी सबै बाहेक पनि तिमीलाई मैले आत्माले नै चाही रहेँ ।”

बजुले एक दिन रुक्मिणी र द्रौपदीले कृष्णलाई गर्ने प्रेमको बारेमा एउटा कथा सुनाउनु भएको थियो । रुक्मिणी कृष्णकी पत्नी भएकीले एक दिन उनले कृष्णलाई सोधकी थिइन् रे तपाईँलाई कसले ज्यादा प्रेम गर्छ भनेर । उत्तरमा कृष्णले द्रौपदीको ना म भने रे । रुक्मिणीलाई त्यस दिनदेखि कृष्णले किन त्यसो भने भनेर जान्न मन लाग्यो रे । एक दिन रुक्मिणीले द्रौपदीको कपाल बाट्दा द्रौपदीका कपालका हरेक केसले कृष्ण कृष्ण भजिरहेको सुनिन रे । बजुले द्रौपदीको त्यो आत्मिक प्रेम भनेर भन्नु भएको थियो । के मैले र सुरजले एक अर्कालाई गर्ने प्रेम पनि आत्मिक प्रेम हो त ? मेरो मनमा प्रश्न उब्जियो । मैले आफैलाई छाम्न थालेँ । मेरो रोम रोमबाट पनि सुरजकै नाम उम्रिरहेको पाएँ र सन्तुष्ट भएँ ।

“तपाईँले कसलाई आत्मिक प्रेम गर्नु भयो बजु, बाजेलाई ?” त्यस साँझ मैले बजुलाई सोधेको थिएँ । मलाई उहाँले बाजेको नै नाम लिनुहुन्छ भन्ने अपेक्षा थियो । उहाँ मेरो प्रश्न सुनेर धेरै बेर चुपचाप बसिरहनु भयो । उहाँको मौनताले मलाई सताउन थाल्यो । मैले उहाँको अनुहारमा हेरेँ, उहाँका आँखाका नानीमा हेरेँ । पैँसट्ठी वर्ष पुगेकी मेरी बजुको अनुहारमा विगतका एक एक पानाहरू पल्टिरहेका थिए । उहाँको अनुहारमा एक प्रकारको खुसी छाउन थालेको थियो र त्यसको प्रकाशले उहाँको अनुहार उज्यालिँदै जान थालेको थियो । म यी सबै कुराहरू चुपचाप निहारी रहेको थिएँ ।

उहाँको धेरै बेरको मौनता सहन नसकेर मैले उहाँलाई बोलाएँ, “बजु, के भयो ?”

उहाँ उठ्नु भयो र दराज भित्रबाट गुलाफी रङ्गको लामो भुवादारी मफलर निकालेर घाँटीमा बेर्नु भयो र त्यसका भुवालाई प्रेमपूर्वक मुसार्न थाल्नु भयो । त्यो मफलर मैले सानैदेखि बजुको दराजमा देख्दै आएको थिएँ । उहाँ आक्कल झुक्कल त्यसलाई निकाल्नु हुन्थ्यो, एक छिन घाँटीमा बेर्नु हुन्थ्यो र मायाले सुमसुम्याइ रहनु हुन्थ्यो । आज फेरि बजुले त्यही मफलर निकाल्नु भएको थियो । बजुको हरेक हरकतले मेरो मनमा कौतूहल जगाउँदै थियो ।

धेरे बेर मफलर मुसारेपछि उहाँले भन्नु भयो, “यो उसैले दिएको थियो ।”

“को ऊ बजु ? तपाईँको आत्मिक प्रेमी हाम्रो बाजे हैनन् र बजु ?” मैले बिस्तारै सोध ।

“हैन वरदा, मेरो आत्मिक प्रेमी तिम्रो बाजे थिएनन्, अर्कै थिए ।”

“को थिए बजु ?”

“मेरो हाकिम ?” उहाँको सपाट उत्तर सुनेर म त्रेरै बेर स्तब्ध भएँ । मैले कल्पना समेत गरेको थिइनँ कि मेरो बज्यैले बाजे बाहेक अन्य कसैसँग पनि प्रेम गरेकी थिइन् भनेर । बजुले फेरि भुवादारी मफलरलाई सुमसुम्याउन थाल्नु भयो । मफलर सुमसुम्याउँदै गर्दा उहाँका अनुहारमा असीम तृप्ति र सुख दौडिरहेको मैले स्पट देखिरहेको थिएँ

“उहाँसँग कसरी भेट भएको थियो बजु ?”

बजुले लामो निश्वास तानेर आँखा चिम्लेर भन्न थाल्नु भयो, “पारिजातलाई टिपिन्न वरदा, हाँगाबाट भुईँमा खसेपछि त्यसलाई कसैले उठाउनु पर्छ भगवानलाई चढाउन, मन्दिरमा सजाउन । म त्यही पारिजात थिएँ वरदा, पवनको एक लहर बहावमा मोहित हुन पुग्दा हाँगाबाट झरेको परिजात, जसबाट तिम्रो बाबा जन्मनु भएको थियो । त्यसपछि परिस्थितिले गर्दा म पवनबाट परित्यक्त भएँ र भुईँमा त्यसै रहिरहेँ । एक्लै  दश वर्षको तिम्रो बाबालाई पाल्दै परित्यक्ता जीवन बाँचिरहेकी थिएँ । जीवनलाई डो¥याउन म त्यति बेला एउटा अफिसमा काम गर्ने, त्यहीँ ऊ  हाकिम भएर आएको थियो, म उसको असिस्टेन्ट थिएँ । सुरुमा त ऊ साह्रै रिसाहा थियो, ससानो कुरामा पनि झडङ्ग रिसाउने बानी थियो । एक दिन ऊ मसँग पनि रिसको झोकमा करायो, मैले उत्तर दिन सकिन र मेरो आँखाबाट आँसु झर्न थाल्यो । मेरो आँसु देखेर ऊ मौन भयो र मलाई हेर्न थाल्यो । त्यसपछिका दिनहरूमा भने ऊ सुध्रिन थाल्यो ।”  

    “अनि उहाँ कसरी सुध्रिनु भयो त बजु ?” मैले बिस्तारै सोधेँ ।

“हो, ऊ पहिला एकदम रिसाहा थियो, बिचरा !” बजुले उहाँसँगको भेटलाई सम्झिँदै भन्नू भयो । बजुले बिचरा उच्चारण यति मायाले गर्नुभयो कि उहाँका आँखा नै सललल रसाए र बजुले आँखा बन्द गरेर उहाँलाई सम्झन थाल्नु भयो । बजुको मस्तिष्कमा उहाँको स्मृति आएर बयेली खेल्न थालेको मैले प्रस्ट अनुभूत गरेँ । शरदमा पाकेका धानका बाला हावामा बयेली खेल्दा किसानको अनुहारमा आउने खुसीको उज्यालो मैले बजुको अनुहारमा लछप्पै देखिरहेको थिएँ । उहाँको यादमा निमग्न भएर बन्द भएका बजुका आँखाहरू यताउता चलिरहेको म स्पष्ट देखिरहेको थिए । बजु आँखा बन्द गरेर कल्पिँदै उहाँको अनुहारलाई निहारी रहनु भएको थियो । उहाँको अनुहारका एक एक पाटो नियाल्दा बजुका आँखाहरू चलिरहेका थिए जुन परेलाले बाहिर पनि स्पष्ट देखिन थालेको थियो । केही बेरपछि बजुका ओंठहरू बिस्तारै काँपे । बजु सायद उहाँले चुम्बन गरिरहेको परिकल्पना गर्दै हुनुहुन्थ्यो भन्ने बुझ्न मलाई गाह्रो भएन । केही बेरपछि उहाँको ओंठका कम्पन बन्द भए, उहाँले आफ्ना दुवै ओंठलाई भित्रतिर तान्नु भयो र धेरै बेरसम्म जिब्रोले दुवै ओंठका स्वाद लिई रहनु भयो ।
“बजु,” मैले फेरि कोट्याएँ, “भन्नु न उहाँ कसरी सुध्रनु भयो भन्या ?”

“मायाले,” बजुले आँखा नखोलीकनै भन्नू भयो, “मेरो मायाले । म रोएको दिनदेखि उसले मलाई माया गर्न थाल्यो । यो माया भन्ने भावना पनि अचम्मकै शक्तिशाली हुँदो रहेछ । ऊ मेरो मलिनो अनुहार त हेर्न सक्थेन ! अझ मेरो आँखामा धुलो परेर आँसु  रसाउँदा समेत मायाले छट्पटीएर व्याकुल हुन्थ्यो । सुरुसुरुमा ऊ रिसाउँदा म तर्सिन्थेँ र मेरा आँखा रसाउँथे । त्यही देख्न नपरोस् भनेर उसले रिसाउनै छोड्यो ।”

“ऊ पानी जस्तै बिना रङ्गको बिना स्वादको भए पनि ऊ जीवन जिउने सरल तर अति महत्त्वपूर्ण तत्त्व थियो । भला पानी बिना के नै बाँच्न सक्छ र । कहिले काहीँ म ऊ सबैसँग पानी जस्तै भएर मिसिएको देखेर रिसाउँथे पनि । उसको सबैलाई भलो गर्ने, गुन गर्ने बानी देखेर म छक्क पर्थेँ । तर ऊ जन्मजात त्यस्तै थियो, उसको यही प्रकृतिले नै उसलाई मेरो आत्मिक प्रेमी बनायो । हामी बिस्तारै एक अर्कालाई प्रेम गर्न लाग्यौँ । यसलाई मेरो शरीरसँग वास्ता थिएन, मेरो रूप र बैँसको पनि वास्ता थिएन तर ऊ मलाई असाध्यै प्रेम गथ्र्यो ।”

ऊ भन्थ्यो, “मञ्जुश्री, म तिमीलाई यति प्रेम गर्छु कि तिम्रो नाम लिँदा समेत मुखमा एक प्रकारको मिठास भरिन्छ । त्यो मीठा सको स्वाद सम्झेर म बारम्बार तिम्रो नाम लिइरहन्छु । तिमी मुस्कुराएको अनुहार सम्झिदा पनि मनमा अद्भुत आनन्द आउँछ, आँखाले चारैतिर हरियाली देख्न थाल्छ । म त्यही अनुहार सम्झेर आँखा चिम्म गर्छु । मेरा बन्द आँखाभित्र तिम्रो अनुहार शरदको पूर्णचन्द्र जस्तै नीलिमा मिसिएको उज्यालो बोक आउँछ । म त्यसलाई हेरिरहन्छु, मेरो हृदय असाध्यै शीतल हुँदै जान्छ ।”

“उसले मलाई धेरै कुरा सिकायो, काम सिकायो, जीवन बाँच्ने तरिका सिकायो । म उसको सङ्गतमा दिनदिनै निखारिँदै जान थाले । उसले मलाई भुईँबाट उठाएर मन्दिरमा चढ्ने पारिजात बनाएको थियो । उसको प्रेम त्याग समर्पण र सम्मानले उचालिएकी म कति बेला ऊसँग एकाकार हुन पुगेँ थाहा नै भएन ।”

“एकाकार ! यु मिन टु से सेक्स बजु ?” मलाई बजुको अन्तिम वाक्यले झन् आश्चर्यमा डुबायो ।

“हो वरदा, मसँग उसलाई श्रद्धाले समर्पण गर्न अरू केही थिएन, यसैले मेरो देह नै उसलाई सुम्पेँ । मैले त्यसलाई पाप ठानिनँ, अपराध मानिन, अपितु आफ्नो देह ईश्वरलाई चढाएको फूल सम्झे, मेरो शरीर त्यति बेला हाम्रो आत्मिक प्रेमको अगाडि गौण भएको थियो । त्यति बेला देह भनेको चरम सुख अनुभव गर्ने माध्यम मात्र बन्दछ वरदा, केवल माध्यम । वरदा प्रेमको सर्वोच्च विन्दु भनेको दुई आत्मा र शरीरको एकाकारबाट उत्पन्न हुने परम सुख नै हो । हामीले त्यो परम सुख बारम्बार भोग्यौँ, तुष्ट हुँदै गयौँ । वरदा, प्रेम र सेक्स दुई नितान्त फरक कुरा हुन् । प्रेम हुँदैमा सेक्स हुनै पर्छ भन्ने छैन र सेक्स हुँदैमा प्रेम अनिवार्य पनि हुँदैन । वरदा, बिना प्रेमको सेक्स वंश बृद्धिको साधन मात्र हो बिना सेक्सको प्रेम मानसिक सन्तुष्टि मात्र हो । नारी र पुरुष बीच यदि प्रेम र सेक्स मर्यादित रूपमा समानान्तर जान्छ भने त्यो नै आत्मिक प्रेम हो ।”  

“अनि त्यसपछि के भयो बजु ?”

“त्यसपछि एक दिन त्यो मेरो मान्छे कपुर उडेझैँ उडेर हावामा कतै बिलायो । ऊ कहाँ गयो कता गयो मैले केही अत्तोपत्तो पाइन । ऊ गएपछि मैले खोज्ने चेष्टा पनि गरिनँ र उसले सम्पर्क गर्ने कोशिश पनि गरेन । ऊ मेरो जीवनमा एक अनौठो सुगन्ध छरेर कपुर झैँ बिलायो, मैले त्यही सम्झेर तिम्रो भाइको नाम कपुर राखेकी थिएँ,” बजुले खुसीले मुस्कुराउँदै भन्नु भयो ।

“उहाँसँगको बिछोडले तपाईँलाई केही फरक परेन र बजु ?” मैले सोधेँ । मेरो प्रश्नमा बजुको अनुहार क्षणभरलाई मलिनो भयो तर तुरुन्तै उज्यालियो ।

“बिछोड एक परिस्थिति मात्र हो वरदा । आत्मिक प्रेममा संयोग र बिछोडले कुनै असर पार्दैन । त्यहाँ न केही पाउनुको आशा हुन्छ न त केही गुमाउनुको डर । आत्मासँग आत्माको एकाकार भएपछिको अवस्थामा कुनै एक आत्मा जीवित भएसम्म शरीर बिछोडिँदाको पीडाले कुनै अर्थ रहँदैन, आत्माको एकाकारले दुवैलाई एक अर्काको आत्मामा सदैव जीवित राख्दछ ।”  

“त्यसपछि उहाँसँग तपाईँको कहिल्यै भेट भएन र बजु ?”

“भएको थियो, अन्तिममा एक पटक भेट भएको थियो । त्यस रात बाहिर आँधी चलिरहेको थियो । तेरो बाबा भर्खर मसँग छुट्टिएर सुत्न गएको थियो । मलाई निन्द्रा लागिरहेको थिएन । मनमा अनौठो प्रकारको डर उत्पन्न भइरहेको थियो । मेरो मन बारम्बार झस्की रहेको थियो । म सुत्न नसकेर उठेँ र झ्यालमा गएर पर्दा खोलेर बाहिर चलिरहेको आँधी हेर्न थालेँ । अचम्म ! त्यो कालो रातमा बाहिरको आँधी भने म उभिएको झ्यालमा आएर बारम्बार ठोकिँदै थियो । यस्तो लाग्दै थियो मानौँ त्यो आँधीले झ्याल नै फुटाउने छ र मलाई निथ्रुक्क भिजाएपछि भुमरीमा बेह्रेर कतै टाढा उडाएर लानेछ । मेरो मन कतै केही अनर्थ हुने आशङ्काले काँप्न थाल्यो । त्यति बेला तिम्री आमा पाउने थिइन्, उनको प्रसवको अन्तिम महिना चलिरहेको थियो । उनको कोखमा तिम्रो भाइ थियो, कपुर ।

“यस्तोमा बुहारीलाई व्यथा लाग्यो भने ?” मैले आफैलाई सोधेँ र त्यसको केही उत्तर नपाउँ मेरो हातखुट्टा फुल्न थाल्यो । म बिस्तारै तिम्रो बाबाको कोठातिर गए र ढोका बिस्तारै उघारेर हेरेँ । तिम्रो बाबा र मामु सुतिरहेका देखेर म ढुक्क भएर फर्किएँ । तर मेरो झ्यालमा भने अझै आँधीले हानिरहेको थियो । मलाई किन किन फेरि त्यही झ्याल अगाडि गएर उभिन मन लाग्यो । म झ्याल अगाडि गएँ र एक टकले झ्यालमा ठोकिन आइरहेको आँधीलाई हेर्न थालेँ । बाहिर चलेको आँधी जस्तै मेरो मनमा पनि अनौठो हुण्डरी चलिरहेको थियो । निक्कै बेरपछि आँधी थामियो तर म झ्याल अगाडि नै उभिई रहेँ,” बजु सोफाबाट उठेर झ्यालतिर जानु भयो र आफ्नो प्रेमको अन्तिमको क्षणहरू सम्झन थाल्नु भयो ।

“मेरो शङ्का सत्य साबित भयो,” झ्यालबाट बाहिर हेर्दै उहाँले भन्न भयो, “एक छिनमा तिम्री आमालाई प्रसव वेदना सुरु भयो । तिम्रो बाबा आत्तिएर मेरो कोठामा आयो । मैले उसलाई गाडी निकाल्न भनेँ र अस्पतालमा दिएर गयौँ । हामीले तिम्री आमालाई भर्ना गयौँ । डक्टरले केही औषधी लिएर आउन भन्यो । मैले तिम्रो बाबालाई बुहारीसँगै बस्न भनेँ र आफै औषधी लिन गएँ । औषधी लिएर फर्कँदै गर्दा मैले उसलाई एउटा बेडमा सुतिरहेको देखेँ । उसको छेउमै उसको कोही आफन्त पनि सुतिरहेको थियो । बिसौँ वर्षपछि उसलाई त्यस्तो हालतमा देख्दा मेरो मन रुन थाल्यो, हातखुट्टा लगलग काँप्न थाले, म अधीर भएँ र आफूलाई सम्हाल्नै सकिनँ । म हुत्तिँदै उसको छेउमा पुगे र उसको हात समातेँ । उसले बिस्तारै आँखा खाल्यो र मलाई देखेर फिसिक्क हाँस्यो ।”

“पोक्चु, आरामै छौँ ?” उसले लरबराएको आवाजमा सोध्यो । ऊ मलाई पोक्चु भनेर बोलाउने गर्दथ्यो । यो नामको कुनै अर्थ थिएन र पनि आत्माबाटै निस्केको उसले मलाई बोलाउने यो नाम मलाई सदैव प्यारो थियो । उसलाई त्यस्तो हालतमा पनि मे चिन्ता थियो, मेरै ध्याउन्ना थियो, मैसँग प्रेम थियो । मैले आफूलाई सम्हाल्नै सकिन, मेरा आँखाबाट आँसु झर्न थाले र झरेका आँसुले हामी दुवैको हात भिजाउन थाल्यो ।”

“कपुर !”  म झन् दर्किएर रुन थालेँ ।

“म अझै पनि तिम्रो आँखामा आँसु देख्न सक्दिन पोक्चु,” उसले मैले समातेको हात बिस्तार हल्लाउँदै भन्यो, “पोक्चु मैले एक दिन भनेको थिएँ, जाने बेलामा मलाई तिम्रो हात समाउँदै जाने मन छ भनेर, सायद हाम्रो प्रेमको शक्तिले होला अन्तिम क्षणमा तिमीलाई मेरो सामुमा ल्याइपुरायो ।”

“मैले उसको समाएको हात छोड्न सकिनँ र समाएर रुँदै बसे । बिस्तारै मेरो हातमा उसको हातको पकड मेरो हातमा ढिलो हुँदै गयो, उसको हातको तातो मधुरो हुँदै गयो । उसले उसको हातको तातो मेरो शरीरमा थपिदिएर गएको थियो, उसको शरीरको सुगन्ध मेरो शरीरमा भरिदिएर गएको थियो ।”

“ऊ गयो तर ऊ अझै मेरो आत्मामा बसेको छ,” झ्यालबाट फर्किएर सोफामा बस्दै बजुले भन्नु भयो, “ऊ भन्ने गथ्र्यो, पोक्चु, मेरो मायाको तातोले  तिमी कहिल्यै ओइलिने छैनौ । त्यसैले उसैको तातोले नै मेरो शरीर अहिलेसम्म तातो छ, मेरो हातमा उसले हात समाउँदाको त्यही सुगन्ध छ, मधुर मधुर कपुरको सुगन्ध । तेरी यो बजु आजसम्म जति पटक सास फेर्छे, त्यति पटक नै त्यही कपुरको सुगन्ध सुँघ्ने कोशिश गर्छे, त्यसैलाई आफ्नो रोम रोममा भर्ने कोशिश गर्छे,” यति भनेर बजुले आकाशतिर हेरेर लामो सास लिनु भयो । उहाँको शिर आकाश तिरै फर्किएको थियो, आकाश तिरै कसैलाई हेर्ने कोशिशमा खुलेका उहाँका चम्किला आँखा बन्द भएनन् । चारैतिर चकमन्न छायो, बजुको कथा सुनिरहेकी म धेरै बेर उहाँलाई हेरेरै बसिरहेँ । मलाई लाग्यो बजु कपुरसँगको प्रेममा लिप्त भएर त्यसैलाई आफ्नो आत्मामा बाँध्न तल्लीन हुनुहुन्छ । तर बजुका खुल्ला आँखा धेरै बेर खुल्लै रहे, कपुरलाई आफ्नो आत्मामा बाँध्न सदैव तल्लीन हुने बजु त्यस साँझ  त्यही कपुरमा मिसिन पुगिसक्नु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै