• २०८१ बैशाख १९ बुधबार

श्रीलङ्कामा सौन्दर्य प्रतियोगितामा झगडा, विजेता घाइते 

kharibot

काठमाडौँ । श्रीलङ्कामा विवाहित महिलाको एक सौन्दर्य प्रतियोगिताको क्रममा भएको झगडाको कारण विजेताले आफूलाई चोट लागेको बताएकी छिन् ।

मिसेज श्रीलङ्का नामको यस प्रतियोगितामा पुष्पिका डी सिल्वा विजेता घोषणा भएकी थिइन् ।

आइतवार भएको समारोहलाई श्रीलङ्काको सरकारी टिभी च्यानलमा देखाइएको थियो । तर मञ्चमा भएको पछिल्लो पटकको विजेता क्यारोलिन जुरीले पुष्पिकाको सम्बन्ध विच्छेद भएको कारण बताउँदै उनको शिरबाट ताज खोसेर अर्को प्रतियोगीलाई लगाइदिइन् ।

उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

क्यारोलाइनले दर्शकलाई भनिन्, “प्रतियोगिताको एउटा नियम छ र सम्बन्ध विच्छेद भएको महिला विजेता हुन सक्दैन, त्यसैले म ताज दोश्रो नम्बरको प्रतियोगीलाई दिदै छु ।”

यस्तो भन्दै उनले डी सिल्वाको शिरबाट ताज उतारिन् र सँगै उभिरहेकी पहिलो रनर अप प्रतियोगीलाई लगाइदिइन् । यस घटनापछि डी सिल्वा रुँदै मञ्चबाट बाहिर गइन् ।

उनले आयोजकलाई आफ्नो सम्बन्ध विच्छेद नभएको तर श्रीमानबाट छुट्टिएर बसेको बताएकी छिन् ।

यस घटनाको दुई दिनपछि आयोजकले उनको ताज फिर्ता गरेको छ र माफी पनि मागेको छ ।

पुष्पिका डी सिल्वाले एक फेसबुक पोस्टमा उक्त घटना पछि आफ्नो शिरमा चोट लागेको र उपचारको लागि अस्पतालमा रहेको बताएकी छिन् ।

उनले थप लेखेकी छिन्, “अनुचित र अपमानजनक" व्यवहारको विरुद्धमा कानुनी प्रक्रिया अपनाउने छिन् ।

डी सिल्वाले एक प्रेस कन्फ्रेन्स पनि गरेकी छिन् र उनले आफूले प्राप्त गरेको ताजलाई एकल महिला (सिङ्गल मदर्स) लाई समर्पित गरेकी छिन् जसले आफ्नो श्रीमान् बिना पनि बच्चाको रेखदेख गर्दै छन्  ।

उनले भनिन्, “ आज श्रीलङ्कामा म जस्तो एकल आमाहरू पीडित छन् , यस जित ती महिलालाई समर्पित छ जसले आफ्नो बच्चालाई एक्लै पाल्न यो सबै सहन गर्दै आएका छन् ।”

मिसेज श्रीलङ्का वर्ल्डका राष्ट्रिय निर्देशक, चंडीमल जयसिंघेले मंगलवार श्रीमती डी सिल्वालाई ताज फिर्ता दिइसकेको बताए ।

उनले भने, “ क्यारोलिन जुरीले मञ्चमा देखाएको व्यवहार अपमानजनक थियो र हामीले यस मामिलाको जाँच शुरु गरेका छौं ।”

प्रहरीले क्यारोलिन जुरी सँग सोधपुछ गरेको छ ।

"मिसेज श्रीलङ्का वर्ल्ड" श्रीलङ्काको एउटा प्रमुख सौन्दर्य प्रतियोगिता हो ।

यस वर्ष प्रतियोगितामा आएका अतिथिहरूमा श्रीलङ्काको प्रधानमन्त्रीकी श्रीमती पनि सहभागी थिइन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै