• २०८१ बैशाख २० बिहीबार

शपथग्रहणको लागि कामचलाउ प्रदेश राजधानी तोक्छौं : बालकृष्ण खाँड

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री बालकृष्ण खाँडले सरकारले चाँडै प्रदेश प्रमुख नियुक्त गर्ने गरी आन्तरिक गृहकार्य सुरु गरिसकेको स्पष्ट पारेका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खाँडले सरकारले प्रदेश प्रमुख तोक्ने गृहकार्य सुरु गरिसकेको बताएका हुन् ।

उनले भने, ‘धेरै अघि नै भइसक्थ्यो तर वाम गठबन्धनका नेताहरुले हामी यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुबाट शपथ नै खाँदैनौँ भनेर भन्नुभएकोले ढिलाई भएको हो, अब फेरी हालै भएको प्रमुख दलहरुको बैठकमा उहाँहरुले यो काम त सरकारको हो भनेर जिम्मेवारी दिनुभयो, अब हामी प्रक्रिया अघि बढाउँछौँ ।’

साक्षात्कारमा बोल्दै उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल साझा व्यक्तित्व, समाज र देशको लागि योगदान पुर्याएका लब्धप्रतिष्ठित महानुभावहरुलाई नियुक्त गर्नुहोस् भनेर सुझाव दिएको जनाए । उनले भने, ‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुचाहिँ नियुक्त नगर्न हामीले सुझाव दिएका छौं, लब्धप्रतिष्ठित व्यक्तिलाई ल्याउँदा राम्रो निर्णय हुन्छ भनेका छौं, जनतालाई पनि यो सरकारले राम्रो मान्छेलाई ल्यायो भनेर छाप परोस् भन्ने हाम्रो सुझाव छ, सायद प्रधानमन्त्रीले चाँडै नै नियुक्त गर्नुहुन्छ ।’

नेता खाँणले अस्थायी राजधानीतोक्ने तयारीमा समेत सरकार जुटिरहेको सुनाए । उनले थपे, ‘प्रदेशको अस्थायी राजधानी तोक्ने गरी आन्तरिक गृहकार्य सुरु भइसकेको छ, हामीले त कामचलाउ मात्रै तोक्छौं, तर प्रदेशको राजधानी त प्रदेश सभाले मात्रै तोक्ने संवैधानिक प्रावधान छ, हामी पनि त्यहीअनुसारको कामचलाउ राजधानी तोक्छौं, ताकि शपथग्रहण गर्न सजिलो होस् ।’

त्यस्तै उनले डाक्टर गोविन्द केसीलाई आफूहरुले सम्मान गर्ने बताउँदै भने, ‘उहाँप्रति हाम्रो सम्मान, आदर छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पुनर्विचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ ।’ डाक्टर केसीले जनजीवनसम्बन्धी खासगरी स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरुको उठान गरेको उनको भनाइ थियो ।

पछिल्लो समय अदालत र केसीबीच भएको घटना दुःखदायी रहेको पनि उनले सुनाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै