काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाँदै छन् ।
उनी बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउने छन् । सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जाने छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् ।
निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जाने भएका हुन् । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन् ।
स्वास्थ्य परीक्षण गराई अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए ।