• २०८१ बैशाख २० बिहीबार

तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेश बनाएकोले समस्या भयो- उपेन्द्र यादव

kharibot

भैरहवा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताएकाछन ।

जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएको हुँदा समस्या भएको बताए । राज्य पुनः संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए । ‘हिन्दीमा बोल्दा पहाडका साथीहरुले, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई  भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो’– यादवले भने । 

नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिए । ‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नु पर्छ’–नेता यादवले भने ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए । उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले भने । 

राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने यादवले बताए । केपी ओलीले दुई पटक संसद विघटन गरेर सम्बिधानमाथी ‘कू’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवले बताए । प्रतिनिधि सभा पुनःस्थापनले गणतन्त्र संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताए ।  

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा आमूल  परिवर्तन गर्नुपर्ने बताए । नागरिकता विधेयक परिमार्जन गरि सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने यादवले बताए । आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको उनको आरोप छ । उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको बताए ।

यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको बताए । 

कार्यक्रममा पार्टीका वरिष्ठ  नेता  अशोक राईले संगठन व्यापक र सुदृढ बनाउन पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए । आउँदो चुनावमा श्रेष्ठता हासिल गर्ने कुरालाई मुख्य प्राथमिकतामा राख्न राईले कर्याकर्तालाई निर्देशन  दिए । पहिचानसहितको सङ्घियता, प्रदेशहरु स्वायत्त र अधिकार सम्पन्न  तथा  केन्द्रको हस्ताक्षेप मुक्त बनाउने पार्टीको  नीति रहेको राईले बताए । केपी ओलीको सरकार ढलेर नयाँ सरकार बनेपनि प्रतिगमन समाप्त नभएको हुँदा सतर्क भएर अघि बढ्नुपर्नेमा राईले जोड दिए । 

पार्टी नेता महेन्द्र राय यादवले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु केपी शर्मा ओलिको प्रतिगामी कदमको मतियार बनेको र अहिले अलग भएपछि  पार्टीमा समस्या नभएको  बताए । उनले पार्टी प्रत्यक्ष निर्वाचित रास्ट्रपतिय प्रणालीको पक्षमा रहेकोे बताए । उनले हिमाल, पहाड र तराई मधेसलाई  एकताबद्ध गरी सबै जाति समुदायलाई समान अधिकार दिने वैकल्पिक पार्टी जसपा मात्र भएको दाबी गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै