• २०८१ बैशाख १६ आइतबार

सुरु भएन चक्रपथ दोस्रो खण्ड(कलङ्की-चावहिल धोबीखोला)को काम

kharibot

फाइल तस्वीर

काठमाडौँ । सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्की-चावहिल धोबीखोलासम्म)को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको दुई वर्षमा पनि अझै सकिएको छैन । 

सो सडकमा अझैसम्म कतिपय व्यक्तिगत घर र विद्युत्का खम्बा हटाउन बाँकी छ । विद्युत्का खम्बा हटाउने काम अन्तिम चरणमा पुगेको छ भने महाराजगञ्ज चोक आसापासमा रहेका घर हटाउन बाँकी रहेको सडक विभागले जनाएको छ । चक्रपथको पहिलो खण्ड निर्माण सम्पन्न भएसँगै दोस्रो खण्डको निर्माण शुरु गर्न खोजिए पनि वर्षौँसम्म निर्माणस्थल खाली हुन नसकेको हो । 

कहिलेसम्म निर्माणस्थल खाली भइसकेर हस्तान्तरण हुने भनेर टुङ्गो नभएको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले बताए । समस्या भएको ठाउँ छाडेर बाँकी निर्माणस्थल चिनिँया टोलीलाई हस्तान्तरण गर्न प्रक्रिया अघि बढाइएको छ । उनले भने, “समस्या भएका ठाउँमा समाधान गर्दै अरु ठाउँमा विस्तार अघि बढाइनेछ ।”

सडक विस्तारको काम कहिलेबाट शुरु गर्ने भन्ने अन्योल रहेको छ । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर लम्बाइमा समस्या रहेकाले त्योबाहेक हस्तान्तरण गर्ने योजना बनाइएको प्रमुख पोखरेलले बताए । विभागले सो विषयमा मन्त्रालयमा फाइल पठाइएको थियो । अहिलेसम्म फाइल फर्किएर नआएकाले उनले बताए । उनले भने, “महाराजगञ्ज चोकमा पनि चक्रपथको बाहिरी भाग बुढानिलकण्ठतर्फ समस्या छ, बाँकी ठाउँमा काम अघि बढाउन सकिन्छ ।”

चीन सरकारले निर्माण गर्ने आठ लेनमा नै निर्माणस्थल खाली गर्न लागिएको हो । त्यसभन्दा बाहिरी भागमा समस्या भए पनि विस्तारै खाली गरिने विभागले जनाएको छ । विगतमा स्वयम्भु नजिकै रहेको स्तुपा निर्माणस्थलमा रहेकामा त्यसमा छलफल भइरहेको छ । महाराजगञ्ज क्षेत्रमा सडकको अधिकार क्षेत्रमा पर्ने घरधनीले सो स्थानमा रहेका संरचना हटाउन मुआब्जाको माग गरेका छन् । स्थानीयवासीले मुआब्जा माग गरे पनि विभागले पहिले नै सो जग्गा विभागको स्वामित्वमा रहेको बताउँदै आएको छ । 

विसं २०३० मा जग्गा सडकको स्वामित्वमा ल्याएको सूचना निकालिएकाले अहिले मुआब्जा दिनु नपर्ने विभागले भनेको छ । स्थानीयवासी भने मुआब्जा चाहिने बताउँदै आएका छन् । व्यक्तिगत सम्पत्तिको विषय भएकाले कागजात प्रष्ट भएपछि मात्रै मुआब्जा दिन मिल्ने वा नमिल्ने भन्ने टुङ्गो लगाइने उनले बताए । 

सडक विभागले चिनियाँ टोलीलाई डिजाइन प्रस्ताव गर्दा प्रत्येक किमीमा आकाशे पुल र सवारी चाप बढी भएका चोकमा ‘अण्डर पास’ र ‘ओभर पास’ को प्रस्ताव गरेको छ । विभागले गरेको प्रस्ताव अनुसार नै हुने नहुने भनी उसको विस्तृत डिजाइन आएपछि मात्रै थाहा हुने बताइएको छ । विस्तृत डिजाइन आएपछि नै कति काम चिनियाँले गर्ने र कति सरकारले गर्ने भनी टुङ्गो हुने प्रमुख पोखरेलले बताए । 

चक्रपथको पहिलो खण्डमा पनि चीन सरकारले आठ लेन निर्माण र तीन आकाशे पुल बनाएको थियो । सडक विभागले छ स्थानमा आकाशे पुल र मुख्य सडकका दुवैतर्फ एकएक लेनको ‘सर्भिस ट्रयाक’ निर्माण गरेको थियो । उनले भने, “अहिले पनि उसले गरेर बाँकी काम हामीले नै गर्नेछौँ ।”

महाराजगञ्ज क्षेत्रमा रहेका व्यक्तिगत घरबाहेक यहाँका विद्युतका खम्बा नहट्नु पनि समस्याका रुपमा रहेको छ । विद्युतका खम्बा हटाउने काम छिट्टै गर्न नेपाल विद्युत प्राधिकरणलाई भनिएको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अर्जुन सुवालले बताए । प्राधिकरणले केही दिन पहिले नै सकाउने लक्ष्य लिए पनि वर्षाका कारण अझै नसकिएको उनले जानकारी दिए । उनले भने, “वर्षा कम भएकाले अब धेरै समस्या नहोला ।”

विभागले एक महिना पहिले चिनियाँ टोलीलाई निर्माणस्थल खाली भएकाले विस्तार शुरु गर्न पत्राचार गरेको थियो । त्यसको लगतै टोलीले आएर स्थलगत भ्रमण पनि गर्यो । विद्युतका खम्बाको फोटो देखाएर उसले निर्माणस्थल खाली नभएको प्रतिक्रिया दिएको थियो । प्रमुख पोखरेलले भने, “त्यो खाली हुनासाथ सडक हस्तान्तरण भएर काम शुरु हुनेछ ।”

पछिल्लो समयमा प्राधिकरणले एकदुई हप्तामा सबै खम्बा हटाइसक्ने भनेको थियो । वर्षा नहटेकाले तत्काल तार हटाएर खम्बा सार्न नसकिएको प्राधकिरणले बताउँदै आएको छ । निर्माणस्थलमा रहेका धेरै संरचना भने हटाइसकिएको छ । सडकमा रहेका रुख एक वर्ष पहिले नै हटाइएको थियो । अहिले पुनः पालुवा आएकाले त्यो हटाउनुपर्ने प्रमुख पोखरेलले बताए । यहाँ रहेको खानेपानीका पाइप एक वर्ष पहिले नै खाली गरिएको थियो । विद्युतका खम्बा पनि धेरै हटाइसकिएका छन् भने थोरै मात्र बाँकी छन् । 

काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडक निर्माण गर्दा त्यहाँ रहेका संरचना हटाउन नसकिँदा निर्माणमा ढिलाइ हुने गरेको छ । सडकमा रहेका संरचना र त्यसको व्यवस्थापनका विषयमा शहरी विकास मन्त्रालयले विधेयक बनाउने भने पनि अझै संसद्मा पेश भइसकेको छैन । अधिकांश स्थानमा निर्माणका लागि ठेक्का सम्झौता हुँदासम्म निर्माणस्थल खाली भएको हुँदैन । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलङ्की सडकमा पनि त्यहाँ रहेका संरचना(युटिलिटि) हटाउन समय लागेकाले ढिलाइ भएको थियो । निर्माण शुरु भएपछि समयमै सकाउन यो खण्डमा चिनियाँले पहिले निर्माणस्थल खाली गर्न भनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय