• २०८१ बैशाख १५ शनिबार

पूर्वसदस्यसचिवका भाञ्जालाई सेटिङमा जागिर, जिल्लियो लोकसेवा 

kharibot

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा आफन्तलाई जागिर खुवाउने त्यहाँका उपल्लो तहका कर्मचारीको चलखेल सफल भएको छ ।

स्रोतका अनुसार प्रज्ञा प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको आँखामा छारो हाल्दै यसअघिका परीक्षामा असफल भएर करारमा राखिएका कम्प्युटर अपरेटर रञ्जन घिमिरेलाई सम्पादकको रुपमा नियुक्ति दिने निश्चित भएको हो । 

प्रज्ञा प्रतिष्ठानले गत भदौ २२ गते एक जना नासु र दुई जना अधिकृतको लागि विज्ञापन गरेको थियो । सोहीअन्तर्गत प्रतिष्ठानले लोकसेवा आयोगसँगको समन्वयमा गत कात्तिक २६ र २७ गते अधिकृत तथा २९ र ३० गते नासुको परीक्षा लिएको थियो ।

त्यसमा पूर्वसदस्य सचिव सनत रेग्मीका भाञ्जा रञ्जन घिमिरेले दुवै पदको परीक्षा दिएका थिए र दुवैतर्फ नाम निकाल्न सफल भएका थिए । गत पुस २० मा गोरखापत्रमा नतिजा प्रकाशित भएको थियो जसमा तीन पदको लागि ११ जनाले नाम निकालेका थिए । 

दुवैतर्फ नाम निकालेसँगै प्रतिष्ठानका पूर्वसदस्यसचिव एवं हालका सदस्यसचिव जीवेन्द्र देव गिरीका निकट सनत रेग्मीका भाञ्जा पर्ने त्यहाँ करारमा कार्यरत रञ्जन घिमिरेलाई जागिर खुवाउन चलखेल गरिएको थियो । उक्त चलखेलमा हालका सदस्यसचिव जीवेन्द्रदेव गिरीले मुख्य भूमिका निभाएका थिए । 

अन्तर्वार्ता आज सोमबार भएको हो । यसको अन्तिम नतिजा बेलुकासम्म प्रकाशित हुने भए पनि रञ्जन घिमिरे नै नियुक्ति हुने निश्चित भएको प्रज्ञास्रोतले खरीबोटलाई जानकारी दिएको हो ।  घिमिरेसहित प्रतिष्ठानले लिएको लिखित तथा मौखिक अन्तर्वार्ताबाट लाइब्रेरी अफिसरमा गायत्री सिग्देल सुवेदीलाई नियुक्त गरिएको छ । नायब सुब्बातर्फको अन्तर्वार्ता भोलि मंगलबार प्रतिष्ठानमा हुँदै छ । 

लोकसेवाले परीक्षा लिए पनि अन्तर्वार्तामा सम्बन्धित संस्थाले नाम निकालेकालाई अन्तर्वार्तामा ४० पूर्णांकमा अंक दिने अधिकार पाउनेमा बढी अंक दिलाएर घिमिरेलाई नियुक्त गरिएको स्रोतको भनाइ छ । 

जिल्लियो लोकसेवा

हिजो अर्थात् माघ ७ गते आइतबार कम्प्युटर सीप परीक्षणको परीक्षा भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सेवा आयोगका अध्यक्ष ब्रह्मदेव राय स्वयं भए पनि पहिला पहिला लोकसेवाको प्रतिनिधि पनि उपस्थित भएका थिए ।

त्यसरी लोकसेवाबाट उपस्थित हुँदा निष्पक्ष हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत नाता गोतालाई पास गराउन नसकिएकाले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रि–प्लानिङ्ग गर्दै कम्पयुटर सीप परीक्षणको लागि विशेषज्ञको रुपमा अजित रेग्मीलाई झिकाएको पाइएको छ ।

रेग्मी नेपाल राष्ट्र बैंकको कम्प्युटर अधिकृतको रुपमा कार्यरत र भू.पू. सदस्यसचिव सनत रेग्मीको नाताले भतिज पर्छन् भने यता अहिले प्रज्ञा प्रतिष्ठानमा करार सेवाको कम्प्युटर अपरेटरका रुपमा कार्यरत रञ्जन घिमिरे पनि भू.पू. सदस्यसचिव सनत रेग्मीका भान्जा पर्छन् ।

लोकसेवाको कर्मचारी आउनुपर्ने ठाउँमा अजित रेग्मीलाई ल्याइनुले सीप परीक्षण परीक्षामा समेत जालझेल गरिएको स्पष्ट भएको छ । यसरी पूर्वसदस्यसचिव सनत रेग्मीका भान्जा रञ्जन घिमिरेलाई जसरी पनि उत्तीर्ण गराउन पूरा ‘प्रि–प्लानिङ्ग’ गरेको कुरा प्रष्ट भएको छ । जसमा हालका सचिव जीवेन्द्रदेव गिरी र कुलपति गंगा उप्रेतीको पनि संलग्नता छ ।

त्यस्तै, मौखिक अन्तर्वार्तामा पनि नियमानुसार लोकसेवाको कर्मचारी आउनुपथ्र्यो तर त्यसो भएन । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभाका सदस्य जगत उपाध्याय प्रेक्षितलाई ल्याई बढी नम्बर दिई हाल करार कम्प्युटर अपरेटरको रुपमा कार्यरत रञ्जन घिमिरेलाई सम्पादकको पदमा उत्तीर्ण गराउन लागि परेका थिए ।

यसअगाडि पनि कम्प्युटर अपरेटरमा परीक्षा दिई फेल भइसकेका घिमिरेलाई जसरी पनि पास गराउनका लागि लोकसेवाको विज्ञहरु नबोलाइएको हो । आफूखुसीका व्यक्तिहरुलाई बोलाउन लगाई त्यो पनि नातागोता र प्रज्ञा प्रतिष्ठानमा बारम्बार आइराख्ने जगत उपाध्याय र अजित रेग्मीजस्तालाई बोलाएपछि षड्यन्त्रको पर्दाफास भएको हो ।

घिमिरे यसअघि प्रतिष्ठानभित्रको आवश्यक स्थायी कर्मचारीको लागि लिइएको परीक्षामा दुईपटक फेल भइसकेका छन् । फेल भएपछि करारमा जागिर नदिई अवकाश दिनुपर्नेमा त्यसो नगरी घिमिरेलाई हालका सदस्यसचिव गिरीले करार थप्दै राख्दै आएका थिए । 

पहिलेदेखि नै षड्यन्त्र 

उक्त परीक्षाको लागि सिलेबस (पाठ्यक्रम) बनाउन प्रतिष्ठानका तर्फबाट सहप्राध्यापक हेमनाथ पौडेललाई लगाएको थियो । सहप्राध्यापक पौडेल गिरीनिकटस्थ मानिन्छन् ।

लोकसेवा आयोगले समेत परीक्षाको पाठ्यक्रम तयार गर्ने काम समेत पाएका उनै पौडेललाई परीक्षाको कापी जाँच्ने काम समेत दिएको स्रोतको दाबी छ । यसरी संयोगवश एकै व्यक्तिले पाठ्यक्रम तयार गर्ने र कापी समेत जाँच्ने जिम्मेवारी पाउनुलाई समेत सेटिङका रुपमा हेरिएको थियो । 

दुईपटक फेल भए पनि उनको म्याद थप्दै यसअघि उनलाई प्रतिष्ठानमै राखिँदै आएको थियो । उनको स्थानमा पदपूर्ति यसअघि नै भइसके पनि आफन्त भएकै कारण राखिँदै आएको थियो । यो परीक्षामा आफू पनि परीक्षार्थी भए पनि घिमिरेले नै परीक्षाको पाठ्यक्रम बाँड्ने जिम्मेवारी पाएका थिए । सोही कारण पनि अन्य नाम निकालेकाहरु समेत आश्चर्यमा परेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै