• २०८१ बैशाख १४ शुक्रबार

पचहत्तर प्रतिशत अनुदानमा किसानलाई किबी

kharibot

त्रिशूली । बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो । 

चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिए ।

नगरपालिकाले नगर क्षेत्रमा दुई हजार २०० किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । वडा नं ९ मा २५० बोट बिरुवा एकै व्यक्तिले रोपेको र सामूहिक रुपमा पनि किबी खेती शुरु भएको अधिकृत शर्माले बताए । 

उक्त नगरपालिकाको वडा नं १, ९, ११, र ४ नं वडाको माथिल्लो भेगमा किबी खेती विस्तार गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए । नगरपालिकाले किबी खेतीका लागि यस वर्ष रु तीन लाख बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि बढाएको छ । 

शिवपुरीमा कृषि उपज प्रदर्शनी 

स्थानीय कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतिमा सञ्चालन भएको कृषि उपज प्रदर्शनी सम्पन्न भएको छ । 

स्थानीय किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको बजारीकरणका लागि गाउँपालिकामा सो प्रदर्शनी गरिएको हो । कृषि क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले आयोजना गरेको सो प्रदर्शनीमा किसानले काउली, गोलभेँडा, बन्दा, सिमी, लसुन, भुइँस्याउ, अदुवा, साग, धनियाँ, केरा, उखु, मुलालगायतका कृषि उपज राखिएको थियो । प्रदर्शनीमा स्थानीय अगुवा किसान रामकुमार थापालाई व्यावसायिक उत्कृष्ट किसानका रुपमा प्लास्टिकको टनेलसहित सम्मान गरिएको थियो । 

तरकारीबालीतर्फ उत्कृष्ट अदुवा आयआर्जन समूहका मिठुदेवी उप्रेती र पञ्चकन्या समूहकी मेनुका पाण्डे, फलफूलतर्फ राम्चे समूहकी रोशनी लामा र मसलाखेतीतर्फ पञ्चकन्या समूहकै भगवती थपलियालाई पुरस्कृत गरिएको थियो । प्रदर्शनीमा १२ वटा आयआर्जन समूहका ४४ किसानद्वारा उत्पादित कृषि उपज राखिएको थियो । 

प्रदर्शनीमा काउली, गोलभेँडा, रायोको साग, अदुवा, मुला मुख्य आकर्षण रहेको कार्यक्रम संयोजक दिलीप खवासले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागी किसानलाई संस्थाले गोलभेँडा, मुला, काउलीलगायतका तरकारीको बीउसमेत निःशुल्क प्रदान गरेको थियो ।

शिवपुरी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष पदम थपलियाले कृषिमा बिचौलियाको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले किसानले भन्दा बिचौलिया मोटाउने प्रवृत्तिले किसान मारमा परेको बताए । 

आयोजक संस्थाको तर्फबाट ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख डा दुर्गाप्रसाद पौडेलले गरिबी निवारणका लागि समूहमार्फत एकले अर्कोलाई सहयोग गर्दै कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै