• २०८१ बैशाख १८ मंगलबार

सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने

kharibot

गलेश्वर (म्याग्दी)।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरू गरेको छ । 

गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरुलाई तालिम दिइएको हो ।

किसानलाई कृषि पेसामा प्रोत्साहन गर्ने, अनुदान, सहयोग तथा अन्य सेवासुविधालाई कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाका आठवटै वडाका तीन हजार छ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण सङ्कलन गरेपछि वडा कार्यालयले प्रमाणीकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

“कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिनेछ”, उनले भने । गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनोट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क सङ्कलनका लागि परिचालन गरेको छ । 

तालिमका अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचीकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न सघाउने बताए ।

“कृषिकर्ममा लागेकाको वास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन सहज हुन्छ, एक जना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी सहजकर्ता परिचालन गरेका छौँ”, उनले भने ।

कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मलखाद एवं किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि सघाउने गाउँपालिकाले जनाएको छ ।

सरकारको मापदण्डमा आठ आना वा सोभन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचीकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्रावधान रहेको छ ।

सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गरेका थिए । सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणीकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । 

किसान भएर पनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गर्दै आइरहेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै