• २०८१ बैशाख १६ आइतबार

सिरहाको मिर्चैयास्थित विद्यालयमा प्रदर्शन, ६ सुरक्षाकर्मीसहित दर्जन घाइते

kharibot

सिरहा । सिरहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालय मिर्चैयामा शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै भएको विवाद उग्र बनेको छ । 

विद्यालयमा प्राथमिक तहका ५ जना करार शिक्षकको लागि विद्यालयले आज लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय दलीय प्रतिनिधी र प्रहरीबीच झडप हुँदा  ६ जना सुरक्षाकर्मीसहित एकदर्जनबढी सामान्य घाइते भएका हुन् ।

उनीहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्केको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । 

उनले झडप भएको र पछि विद्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जनाए । सूचनामा अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गरेको उल्लेख गरिएको छ । 

स्थानीय विभिन्न दलका प्रतिनिधीले नगरपालिकाका जनप्रतिनिधी र विद्यालयका प्रधानअध्यापकबीचको मिलेमतोमा रकम चलखेलगरी शिक्षक भर्ना गर्न लागेको आरोप लगाएको छ । आज विहान पाँच जना प्राथमिक शिक्षकको भर्नाको लागि परीक्षा सञ्चालन हुन लागेको थाहा पाएर पुगेका स्थानीयले परीक्षा रोक्न खोज्दा प्रहरीसँग झडाप भएको हो ।

जनप्रतिनिधि र विद्यालयका प्राधानाध्यापक अशोक कुमार यादवले रकम चलखेलमा आफ्ना आसेपासेलाई भर्ना गर्न लागेको भन्दै स्थानीले परीक्षा रोकी पुनः सूचना निकालेर शिक्षक तथा कर्मचारी भर्ना गर्न माग गर्दै प्रदर्शन गरेका थिए । 

 मिर्चैया ३ को आधारभुत विद्यालयमा पनि एक जना शिक्षकको परीक्षा पनि विरोध भएपछि स्थगित भएको नगर शिक्षा शाखाका श्याम यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयका लागि १४ जना शिक्षक कर्मचारी भर्ना गर्न लागेकोमा ६ जनाका लागि आज परीक्षा हुन लागेको थियो । तर, विवादपछि भने परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएको छ ।

यता, प्रअ यादवले भने आफूले सवै प्रक्रिया पूरा गरेरै आज परीक्षाको मिति तोकेको बताए । उनले भने, ‘विद्यालयले मंसिरमै एक जना प्राविधिक तर्फ भेटेरिनरी निमावि, एक जना मावि, साधारणतर्फ एकजना निमावि र ५ जना प्राथमिक शिक्षाका लागि जम्मा ७ जनाको सूचना निकालेर आज परीक्षा गर्न लागिएको थियो ।’ 

 ५ जना प्राथमिक शिक्षकको लागि २४ जना उम्मेदवारले फर्म भरेको समेत प्रअ यादवले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै