• २०८१ बैशाख १७ सोमबार

भुटानी शरणार्थी अपांग संघलाई अमेरिका बस्ने सुवेदीको सहयोग

kharibot

झापा । भुटानी शरणार्थी अपांग संघलाई अमेरिकामा बस्ने मेक सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी-१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर (नेपाल एक लाख २० हजार बढी) सहयोग गर्ने भएका हुन् । 

अमेरिकमा सिजल एन्ड सिस्टर्स एलएलसी प्रालिमार्फत सुवेदी परिवारले अपांगता भएका भुटानी शरणार्थीको हितका लागि उक्त रकम सहयोग गर्न सुरु गरेका छन् । प्रालिका सञ्चालक मन सुवेदी हुन् । उनी मेककी श्रीमती हुन् । उनले सहयोग गर्न थालेको ६ महिना पुगेको छ ।

उनले दुईपटक रकम पठाइसकेको भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले जानकारी दिइन् । सुवेदीले पठाएको रकमले संघको कार्यालयमा रहेका दुई कर्मचारीको सेवासुविधा र कार्यालय सञ्चालन खर्च गरिरहेको उनले बताइन् । दातृ निकायले छाडेपछि अप्ठेरोमा परेको संघलाई उनको सहयोगले ठूलो योगदान गरेको उनले बताइन् । 

संघले हालसम्म अपांगता भएका भुटानी शरणार्थीको जीवन निर्वाहका लागि काम गरिरहेको छ । ‘हामीले अपांगता भएका भुटानी शरणार्थी र तीनको परिवारको जीविकोपार्जनमा काम गरिरहेका छौँ । हामीले मुडा, गुडिया, टेलरिङ र हाते सामान उत्पादनको काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘यसको व्यवस्थापनका लागि कर्मचारी आवश्यक पर्छ । कर्मचारी पाल्न हामीसँग स्रोत थिएन । मेक सुवेदीले पठाएको सहयोगले ठूलो राहत मिलेको छ ।’

शिविरमा हाल ४२१ जना अपांगता भएका शरणार्थी छन् । उनीहरू शिविर बाहिर गएर काम पनि गर्न सक्दैनन् । दातृनिकायले छाडेपछि अपांगता भएका भुटानी शरणार्थीको बिजोग छ । शिविरमै रोजगारी दिने उद्देश्यले संघले रोजगारमूलक कार्यक्रम चलाउँदैछ । सुवेदीले यसअघि पनि शरणार्थीका लागि सहयोग गर्दैै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै