• २०८१ बैशाख १७ सोमबार

नागरिकता विधेयक बारे राष्ट्रपतिको चासो, प्रधानमन्त्रीसँग छलफल

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नागरिकता विधेयक बारे छलफल भएको बुझिएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा समेटिएका केही प्रावधानबारे चासो व्यक्त गरेको स्रोतले खरीबोटलाई बताएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग भेट गरेकी थिइन् । सो भेटमा पनि उनले नागरिकता विधेयकका बारेमा जानकारी लिएकी थिइन् । 

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो। त्यस्तै राष्ट्रिय सभाले साउन १२ गते विधेयक पारित गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा  पठाएका थिए । राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकमाथि विचार गर्न १५ दिनको समयसीमा छ । नेपालको संविधानधारा ११३ को उपधार (३) मा प्रमाणीकरणका लागि पेस भएको विधेयक (अर्थबाहेक) मा पुनर्विचार गर्नु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा विधेयक पेस भएको मितिले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनसक्ने संबैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यस्तै विधेयकलाई संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिमात्र विधेयक ऐन बन्ने संबैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै