• २०८१ बैशाख १४ शुक्रबार

कतार विश्वकप फुटबलका ६ रोचक तथ्य

kharibot

काठमाडौँ । आइतबारदेखि कतारमा विश्व फुटबलको कुम्भमेला मानिएको विश्वकप फुटबल शुरु हुदै छ ।  यस पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुनेछन् । अरब राष्ट्रमा आयोजना हुने यो पहिलो फिफा विश्वकप हो ।

यस वर्ष ३२ टोली सहभागी छन्, जसलाई चार–चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई टोली नकआउट राउण्ड अर्थात राउण्ड अफ १६ मा पुग्नेछन् ।

विश्वकप सुरु हुनु अघि, यस विश्वकपमा सहभागी हुने खेलाडी बारेका केहि रोचक तथ्य यस रिपोर्टमा प्रस्तुत गरेका छौं । 

१-    कान्छो खेलाडी: युसुफ मुकोको (जर्मनी)

जर्मन टोली विश्वकप जित्ने प्रमुख दावेदार मध्येको एक हो । टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण छ । तर, टोलीमा दुई जना खेलाडी छन् जसमा सबैको नजर रहनेछ । जसमा १८ वर्षीय जमाल मुसियाला र १७ वर्षीय युसुफ मुकोको रहेका छन् । यस वर्षको फिफा विश्वकपमा युसुफ सबैभन्दा कान्छो खेलाडी हुन् । उनलाई अहिले जर्मनीको उदाउँदो स्टारको रुपमा लिइएको छ । यो सिजन बुन्डेसलिगामा उनको कीर्तिमान प्रभावशाली रहेको छ । युसुफले बोरुसिया डर्टमण्डबाट खेल्दा ६ गोल र तीन असिस्ट गरेका छन् । आफ्नो प्रदर्शनले युसुफले जर्मन म्यानेजर हान्सी फ्लिकको ध्यान आकर्षित गरे । स्टार फुटबलर टिमो वेर्नर घाइते भएपछि युसुफालाई जर्मन टोलीमा समावेश गरिएको थियो ।
 
२ - सबैभन्दा बढी उमेरको खेलाडी: अल्फ्रेडो तालाभेरा (मेक्सिको)

यस विश्वकपमा धेरै टिमले आफ्नो टिममा अनुभव पनि समावेश गरेका छन् । जसमा ३९ वर्षीय ड्यानी अल्भेस (ब्राजिल), ३८ वर्षीय टियागो सिल्भा (ब्राजिल), ३७ वर्षीय लुका मोड्रिच (क्रोएसिया) र ३७ वर्षीय स्टार क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) रहेका छन् । यद्यपी मेक्सिकोका गोलकिपर अल्फ्रेडो तालाभेरा यस विश्वकपका सबैभन्दा पाका खेलाडी हुन् । अल्फ्रेडो ४० वर्षका छन् र एफसी जुआरेजका लागि क्लब स्तरमा खेल्छन् । उनी यस विश्वकपका लिजेण्ड फुटबलरमध्येका एक हुन् । उनका स्वदेशी तथा साथी गोलकिपर गुइलेर्मो ओचोआ पनि ३७ वर्षका छन् ।

३- सबैभन्दा होचा खेलाडी: इलियास करे (मोरक्को, ५ फिट, २ इन्च)

मोरक्को टोलीले यो वर्ष पनि ठूलो अपसेट निम्त्याउन सक्छ । टोलीको जिम्मेवारी १० नम्बरको जर्सी लगाएका इलियास केयरको हातमा हुनेछ । यो स्टार कम उचाइ भए पनि अगाडिको टोलीलाई चकित पार्न माहिर छन् । मैदानमा उनको गति र कौशल हेर्न लायक छ । यही कारणले उनलाई टोलीमा १० नम्बरको जर्सी दिइएको हो । समूह एफमा बेल्जियम, क्यानडा र क्रोएसियासँगै मोरक्को परेको छ । क्लब स्तरमा इलियासको प्रदर्शन प्रभावशाली रहेको छ । उनले यस सिजनमा इङ्लिस च्याम्पियनसिपमा क्लब क्यूपीआरसँग तीन गोल र छ वटा असिस्ट गरेका छन् ।

४- सबैभन्दा अग्ला खेलाडी: एन्ड्रियास नोपर्ट (नेदरल्याण्ड्स, ६ फिट, ६ इन्च)

नेदरल्याण्डका गोलकिपर एन्ड्रियास यस विश्वकपमा सबैभन्दा अग्लो खेलाडी हुन् । उनी लुइस भान गालको टोलीमा प्रवेश गर्न सफल भएका छन् । हिरेनवीन क्लबका लागि उनको प्रदर्शन प्रभावशाली थियो । उनले १४ खेलमा ६ उत्कृष्ट बचाउ गरेका थिए । नेदरल्याण्ड्सको टोली विश्वकपमा आफ्नो क्लबको प्रदर्शनलाई दोहोर्याउन यो प्रतिभाशाली गोलकिपरमा निर्भर हुनेछ ।

५- विश्वकपमा धेरै खेल खेल्ने खेलाडी: लियोनल मेसी (अर्जेन्टिना)

अर्जेन्टिनाका कप्तान तथा यस विश्वकपका स्टार खेलाडी लियोनल मेसीमाथि यो वर्ष सबैको ध्यान केन्द्रित हुनेछ । यो उनको अन्तिम विश्वकप हो । यस्तो अवस्थामा उनले आफ्नो देशलाई ट्रफी जिताउन सक्दो प्रयास गर्नेछन् । मेसीले पहिलो पटक २००६ फिफा विश्वकप खेले र यो उनको पाँचौं विश्वकप हो । फिफा विश्वकपमा सबैभन्दा धेरै १९ खेल खेल्ने कीर्तिमान पनि उनको नाममा छ । साथै, उनले आफ्नो देशका लागि सबैभन्दा धेरै खेल खेलेका छन् । मेसीले अर्जेन्टिनाका लागि १६५ खेल खेलेका छन् भने ९१ गोल गरेका छन् । दोहाबाट उनी ट्रफी लिएर स्वदेश फर्कन चाहन्छन् ।

६- विश्वकपमा सर्वाधिक गोल र असिस्ट: थोमस मुलर (जर्मनी)

जर्मनीका स्टार फरवार्ड थोमस मुलरले यस विश्वकपमा भाग लिने खेलाडीहरूमध्ये प्रतियोगितामा सबैभन्दा धेरै गोल र असिस्ट गर्ने कीर्तिमान राखेका छन् । उनले यस प्रतियोगितामा अहिलेसम्म १० गोल र ६ असिस्ट गरेका छन् । जर्मन टोलीमा थोमसलाई रेडियो मुलरको नामले पनि चिनिन्छ । यो खेलाडी मैदानमा निकै चलाख मानिन्छन् । मुलर यस विश्वकपमा विपक्षी टोलीका लागि ठूलो खतरा बन्न सक्छन् । सन् २०१४ मा जर्मन टोलीले फिफा विश्वकप जित्दा मुलरको महत्वपूर्ण भूमिका थियो । उनले त्यो वर्ष सिल्भर बल अवार्ड पनि पाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै