• २०८१ बैशाख १७ सोमबार

चलचित्र विकास बोर्डको स्वास्थ्य बिमा पाउने पहिलाे कलाकार बने रामचन्द्र

kharibot

काठमाडौं । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६ सय रुपैंयाँ बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरे ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरूप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो ।

यस कार्यक्रमअन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा एक सय दुईजना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।

कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरिप्रसाद रिमाल, लेखक÷निर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भइसकेको छ ।

चालु बीमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ ।

राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरे । बीमा गरेको ६–७ महिनामा बल्ल एकजनाले दाबी गरेको बताउँदै भण्डारीले थोरै नै रकम भए पनि दाबी पेस गरेपछि २४ घन्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने जनाए ।

कलाकार अधिकारीले बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रूपमा आफूले हेरेको बताए । बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै