• २०८१ बैशाख १६ आइतबार

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ- मुख्यमन्त्री पोखरेल

kharibot

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए)द्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उनले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताए ।

परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक नेतृत्वले लिएको सिद्धान्तलाई कार्यान्वयन गर्न कर्मचारीतन्त्र लाग्नुपर्नेमा जोड दिँदै उनले  निजामती कर्मचारी कुनै पनि शासन व्यवस्थाको ऐना हो भने ।

सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनकै लागि गण्डकी प्रदेश सरकारले कर्मचारीका लागि नियमितरुपमा तालिम सञ्चालन गरेको मुख्यमन्त्री पोखरेलले बताए ।

सङ्घीयता कार्यान्वयनका सिलसिलमा केन्द्र सरकारसँग धेरै विमति रहेको उल्लेख गर्दै उनले प्रहरी समायोजनमा विलम्ब, निजामती कर्मचारी ऐन ल्याउन आलटाल गरेर प्रदेशलाई कमजोर बनाउन खोजिएको बताए । 

मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्यलगायतले तालिमबाट वृत्ति विकासका साथै व्यक्तिगत क्षमतामा समेत सुधार हुने विश्वास व्यक्त गरे । 

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले अधिकृतस्तरका कर्मचारीका लागि थालेको ३० दिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिइएको बताए ।

कर्मचारीको ज्येष्ठता, प्रदेश र स्थानीय तहमा समायोजन भएको मितिलगायत विषयलाई आधार मानी तयार पारिएको मापदण्डअनुसार कर्मचारी छनोट गरिएको उनले जानकारी दिए । तालिमका लागि पाँच सयभन्दा बढी इच्छुक रहे पनि ६० जना छनोटमा परेको र ५६ जना तालिममा सहभागी भएको उक्त अवसरमा जानकारी गराइयो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै