• २०८१ बैशाख १६ आइतबार

कञ्चनपुर औद्योगिक ‘हब’का रुपमा विकास हुन्छ- उद्योगमन्त्री भण्डारी

kharibot

दोधारा चाँदनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताएका छन् ।

कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले औद्योगिक क्षेत्र निमार्णको काम दु्रत गतिमा अगाडि बढेकाले केही समयपछि कञ्चनपुर औद्योगिक हबका रुपमा विकास हुन लागेको बताए । 

“छेला औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ”, मन्त्री भण्डारीले भने, “दुई-तीन दिनभित्रै यहाँ कार्यालय स्थापना गर्ने तयारीमा छौँ ।”

उनले दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण पनि अन्तिम चरणमा पुगेको बताए । “हाम्रो सुक्खा बन्दरगाहदेखि भारतको औद्योगिक सहर ८५ किलोमिटरको दूरीमा मात्रै छ”, उनले भने, “व्यापार पारवहनका हिसाबले यो सुक्खा बन्दरगाह  महत्वपूर्ण छ ।” गत सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुक्खा बन्दरगाहको निरीक्षण गरेका थिए । दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्ष पुग्दासमेत भौतिक पूर्वाधार निमार्ण हुन सकेको छैन ।

अहिले डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्रमा रुख छपानको काम गरिरहेको छ । औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ । 

उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार व्यक्तिले रोजगारी पाउनेछन् । एक सय औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ । यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योग सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै