• २०८१ बैशाख १६ आइतबार

उद्योगमन्त्री भण्डारी र युएसपिटीओका निर्देशकबीच छलफल

kharibot

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ ।

नेपालले विश्वव्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योगमन्त्री भण्डारीले बताए । 

“हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार (ट्रिप्स) सम्झौताको धारा ६६.२ र  लाभको बाँडफाँटमा पहुँचसम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ लिने सम्बन्धमा अमेरिकी सरकारबाट निरन्तर सहयोगको अपेक्षा राखेका छौँ”, उनले भने ।

यस क्षेत्रमा रहेका सम्भावना र अवसरबाट लाभ लिन नेपालले बौद्धिक सम्पत्ति नीति बनाएको तथा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन प्रतिस्थापन गरी औद्योगिक सम्पत्ति कानून निर्माणमा लागिरहेको उनको भनाइ छ ।

“औद्योगिक सम्पत्तिको सिर्जना र उपयोगका क्षेत्रमा युएसपिटीओको अनुभव, असल अभ्यास र सहकार्यबाट नेपालले पेटेन्ट, डिजाइन, ट्रेडमार्कलगायत औद्योगिक सम्पत्तिको सिर्जना, विकास, संरक्षण र प्रवद्र्धनमा लाभ लिनसक्ने मैले विश्वास लिएको छु”, उद्योगमन्त्री भण्डारीले भने, “यो सहकार्यसम्बन्धी सम्झौताले नेपालको बौद्धिक सम्पत्ति संरक्षण कार्यालय र त्यहाँ कार्यरत जनशक्तिको सीप तथा क्षमता अभिवृद्धि भई व्यापार तथा लगानीको वातावरण निर्माणमा थप इँटा थप्ने कुरामा म विश्वस्त रहेको छु ।”

अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न पनि मन्त्री भण्डारीले आह्वान गरे । सो अवसरमा भिडेलले नेपाल सरकारसित सहकार्य गर्न युएसपिटीओ तयार रहेको बताए । साथै उनले नेपालमा लगानी बढाउने कुरामा अमेरिका सरकार सकारात्मक रहेको धारणा राखे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै