• २०८१ बैशाख १७ सोमबार

कलंकी–महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छ- उपप्रधानमन्त्री श्रेष्ठ

kharibot

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । 

बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत चेङ सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए । उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकपनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए ।

मन्त्री श्रेष्ठले चिनियाँ राजदुत चेङ सङसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए । उनले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाए ।

बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको बताए । उनले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताए । उनले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन पनि आग्रह गरे । 

उनले भने, ‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसै अनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन । हाम्रो बीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । समस्याको समाधान निकालीसकेको छौं । बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम शुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर सहमति भने त्यो होइन ।’

उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलंकी–महाराजगञ्ज सडक निर्माण नभएको भएपनि अब भने तत्काल काम शुरु गर्ने तयारी रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय