• २०८१ बैशाख १६ आइतबार

डडेल्धुरामा लामो खडेरीले हिउँदेबाली नष्ट

kharibot

डडेल्धुरा । लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ ।

खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् ।  खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन ।

गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका–२ का किसान देवराज भट्टले जानकारी दिए ।

खेतमा लगाइएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुनसक्ने भयले किसान चिन्तित  छन् । पाखो जमिनमा अकाशे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ । बजारमा गँहुको मूल्य अकासिँदै छ तर खेत बारी भने बाँझै छन् । 

असोज अन्तिम सातापछि वर्षा भएको छैन । वर्षा नहुँदा खोलानाला पनि सुक्दै गइरहेका छन् । जिल्लामा आठ हजार सात सय ४४ हेक्टर जमिनमा गहुँखेती गरिन्छ ।

गतवर्ष पनि खडेरीले गर्दा एक दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर मात्रै गहुँ उत्पादन भएको थियो । यसवर्ष पनि हिँउदे वर्षा नहँुदा किसान तथा किनेर खाने व्यक्तिलाई समेत समस्या हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए ।

वर्षा नहुँदा हिउँदे तरकारीको पनि उत्पादन घटेको छ । गहुँबाली लगाइने कूल क्षेत्रफलमध्ये वर्षात्को भरमा खेती हुने जमिन ६० प्रतिशत रहेको छ । यसवर्ष अन्य वर्षको तुलनामा उत्पादन ६० देखि ७० प्रतिशतले घट्ने ज्ञान केन्द्रले जनाएको छ । 

गहुँ तथा तेलहन बाली उत्पादनमा समेत ह्रास आउन सक्ने केन्द्रका प्रमुख भट्टले जानकारी दिए । लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा धेरै ठूलो असर परेको मुद्राडस्थित अजयमेरु–१ का किसान शेरबहादुर भण्डारीले बताए ।

पाखो जमिन सुख्खा हुँदै गइरहेको र बाली पनि आकाशे पानीकोभरमा छर्नुपरेको अन्य किसानले बताए । उतिबेला छरियो बीउ लामो अवधिसम्म पनि पानी नपर्दा नउमे्रको र उम्रेका बिरुवा पनि मरिरहेको किसान भण्डारीको गुनासो थियो ।

खेतीपातीका भरमा परिवार पाल्ने किसान बढी चिन्तित छन् । उनीहरुले लगाएको अन्न सुक्दै गइरहेको छ र जग्गाजमिन बाँझो देखिन्छ । उच्च पहाडी क्षेत्रमा लगाएको अन्नबाली पानीको सुविधा नहुँदा नासिँदै गइरहेको अजयमेरु– ३ का इश्वरी चन्दले बताए । समयमा पानी नपरेकै कारण जिल्लाका अधिकाशं उर्वराभूिम बाँझो छ । तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै