• २०८१ बैशाख १७ सोमबार

दिगो पर्यटनका लागि एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु

kharibot

काठमाडौँ । एशिया प्रसान्त क्षेत्र र दक्षिण एशियाको दिगो पर्यटन विकासका लागि साझा अवधारणा बनाउने उद्देश्यले एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को आयोजना सुरु भएको तीन दिवसीय कार्यशालामा कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी अभिवृद्धिलगायत विषयमा छलफल र आगामी रणनीति तय गरिने जनाइएको छ ।

‘दक्षिण एसियामा राम्रो पर्यटनका लागि राम्रो तथ्याङ्क’ विषयक क्षेत्रीय कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, माल्दिप्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश तथा युएनडब्लुयुटिओका प्रतिनिधिको सहभागिता रहेको छ । 

संयुुक्त राष्ट्र सङ्घअन्र्तगत विश्व पर्यटन सङ्गठनले विश्व पर्यटनका विभिन्न आयाममा छलफल तथा पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आइरहेकोमा यो क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो ।

कार्यशालाको उट्घाटन सत्रमा पर्यटनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरणमा ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताए । 

पर्यटनमन्त्री किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत सङ्ख्यात्मक तथा गुणात्मकरूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा यो कार्यशाला योजना गरेकोमा युएनडब्लुयुटीओलाई धन्यवाद ज्ञापन गरे । 

नेपालमा आयोजना गरिएको यो कार्यक्रमका माध्यमबाट हामीले विश्व पर्यटनका नयाँ आयामका बारेमा थप जान्न तथा अनुभव आदानप्रदान गर्ने र दिगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा संयुुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व पर्यटन सङ्गठनका बाह्य सम्बन्ध निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयाम परिवर्तन हुँदै गएको सन्र्दभमा पर्यटकीय योजना तर्जुमा देखि प्रवद्र्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्याङ्क आवश्यक हुने बताए । 

स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताए । 

यस्तै गणतन्त्र कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका डिजी जोङताय कपार्क भर्चुअल माध्ययमबाट मन्तव्य राख्दै कार्यक्रमले गुणस्तरीय तथ्याङ्कमा काम गर्न र एक अर्को देशको अनुभव साटासाट गर्न फलदायी हुने अपेक्षासहित शुभकामना व्यक्त गरे । 

युएनडब्लयुटिओको आयोजनामा नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशका अनुभव आदानप्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार पार्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए । 

कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न सेसनमा  छलफल हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । निर्देशक लामिछानेका अनुसार पहिलो दिन ‘मानिस, पृथ्वी र समृद्धिका लागि पर्यटनको मापन’, ‘नेपालको पर्यटकीय तथ्याङ्क प्रणाली’लगायतका विषयमा उच्चस्तरीय छलफल हुनेछ । 

त्यस्तै इन बाउन्ड, डोमेस्टिक र आउटबाउन्ड टुरिम्जको परिभाष, विविध तथ्याङ्क स्रोत, पर्यटनमा रोजगारीलगायत विषयमा छलफल हुनेछ । पर्यटनले अर्थतन्त्रमा पारेको प्रभावक, टुरिज्म स्याटेलाइट अकाउन्ट, एशिया र एशिया प्रशान्त क्षेत्रको दिगो पर्यटनलगायत विषयमा छलफल हुनेछ । ती छलफलमा विभिन्न देशका विज्ञले भाग लिनुहुनेछ भने विभिन्न देशको अनुभवसमेत आदानप्रदान गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै