• २०८१ बैशाख १७ सोमबार

मुलपानीमा पहिलो पटक एकदिवसीय खेल हुदै

kharibot

काठमाडौँ । मुलपानीको माथिल्लो क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मान्यता पाउने भएको छ ।

जारी एसिसी प्रिमियर कपअन्तर्गत शनिबार ओमान र युएईबीचको सेमिफाइनल खेल यसै मैदानमा हुने भए पछि मुलपानीले एकदिवसीय अन्तर्राष्ट्रिय मैदानको मान्यता पाउने भएको हो । 

क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुने भएको हो । 

यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन् । तर शनिबार एकदिवसीय मान्यताप्राप्त दुई टिम भिड्ने भएसँगै मैदानले पनि एकदिवसीय मान्यता पाउने भएको हो। 

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो । यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो । 

आइसिसीले विभिन्न मापदण्ड पूरा गरेपछि मात्र मैदानलाई एकदिवसीय मान्यता प्रदान गर्छ । मुलपानी मैदानमा ड्रेसिङ रुम, पेभिलियन लगायतका काम यहि महिनाको सुरुवातमा सकिएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय स्टेडियमको मान्यता पाउने पहिलो स्टेडियम अस्ट्रेलियाको मेलवर्नमा स्थित मेलवर्न क्रिकेट ग्राउण्ड (एमसीजी) हो । यो स्टेडियममा १९७१ कोजनवरी ५ मा पहिलो एकदिवसीय खेल भएको थियो ।

अहिलेसम्म विश्वका २१५ स्टेडियमले एकदिवसीय खेल खेल्ने मान्यता पाएका छन् । मुलपानी स्टेडियमले यो मान्यता पाएसंगै एकदिवसीय अन्तर्राष्ट्रिय स्टेडियमको मान्यता पाउने २१६औ स्टेडियम बनेको छ ।

विश्वमा सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने मान्यता पाएका स्टेडियम भारतमा छन् । भारतमा ५० स्टेडियमले यो मान्यता पाएका छन् । त्यस्तै इङल्याण्डका २०, अस्ट्रेलियाका १९, न्युजील्याण्ड र पाकिस्तानका १६-१६ दक्षिण अफ्रिकाका १२, श्रीलंकाका ९, बंगलादेशका ८ स्टेडियमले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएका छन् ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय