• २०८१ बैशाख १६ आइतबार

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

kharibot

म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् ।

आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहेका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् । छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उनले बताए  ।

धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरुले आरोहीका लागि बाटो बनाइसकेका छन् । दैनिकजसो पानी परेको र हिमपात भएकाले आरोहीहरुलाई समस्या भए पनि  स्पेनका ८३ वर्षीय कार्लोस सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । मौसमले साथ दिएमा मङ्गलबार चौथो आधार शिविर पुग्ने तयारी गरेको उक्त टोली बुधबारसम्म धौलागिरिको चुचुरो चुम्ने योजनामा छ । 

कार्लोसको आरोहण दलको नेतृत्व सेभेन समिट ट्रेकिङ कम्पनीका मिङ तेम्बा शेर्पाले गरेका छन् । यो उनको १३औँ पटकको प्रयास हो । गत वर्ष १२औँ पटकको प्रयासमा कार्लोस सात हजार मिटरको उचाइमा पुगेर फर्किएका थिए । 

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका उनको दुई दशकयता १२औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पूरा हुनसकेको थिएन ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् । सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले आफ्नो कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका बताए । आधार शिविर पुगेर हेलिकप्टरमा फर्किएका म्याग्दी दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले आरोहीहरु चुचुरोमा पुग्न अनुकूल मौसमको पर्खाइमा रहेका बताए ।

“वैशाखमा धेरै हिउँ परेकाले आरोहणका लागि आएकाहरु बेसक्याम्पमा एक महिनाभन्दा धेरै समय बस्नु परेको थियो,” पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न उनले भने, “मौसम परिवर्तन, तापक्रम वृद्धि र वातावरणीय प्रदूषणको असर हिमालमा पनि परेको छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै