• २०८१ बैशाख १५ शनिबार

देउवा र कोइरालाको हिचमिचले तरंगित काँग्रेस

kharibot

काठमाडौँ । पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालालाई कार्यक्रमहरुमा सँगै देखिन थालेपछि अनेक किसिमका टिका टिप्पणी हुन थालेका छन् । गत महाधिवेसनमा देउवाका प्रतिद्वन्दी रहेका कोइरालाको अहिले सभापति देउवासँगको हिचमिचलाई अनेक कोणबाट विश्लेषण गरिएको छ ।

गत महाधिवेशनपछि काँग्रेसमा सभापति देउवा विरोधी पक्षको नेताको रुपमा तत्कालिन कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलको ठाउ लिएका कोइराला अहिले भने देउवाको नजिक भएको आरोप लाग्न थालेको छ । साथै आउदो महाधिवेशनमा देउवा सभापतिमा लड्न काँग्रेसको विधान अनुसार नै मिल्दैन, यस अवस्थामा अहिले कोइरालाको हिचमिच देउवाको उत्तराधिकारी बन्ने त होइन भन्ने तर्क पनि काँग्रेस भित्र हुन शुरु भएको छ ।

एक समय एकै कार्यक्रममा समेत नजाने देउवा र कोइरालाले शुक्रबार र शनिबार चितवन र भक्तपुरमा भएका कार्यक्रममा सँगै देखिए । यति मात्र होइन शुक्रबारको कार्यक्रममा भात लिन उनीहरु एउटै विमानबाट चितवन पुगेका थिए ।

देउवा र कोइरालाको हिचमिच बढेपछि अहिले संस्थापन इतर क्याम्पमा हलचल मच्चिएको छ । देउवाप्रति विगतमा आक्रामक हुने कोइराला पछिल्लो समय न त पार्टीका गतिबिधिका विषयमा बोल्ने गरेका छन् न त सरकारका निर्णयहरुका विषयमा नै टिप्पणी गर्ने गरेका छन् । यसले देउवाको बहिर्गमनपछि उनकै उत्तराधिकारी हुने दाउमा कोइराला त छैनन् भन्ने प्रश्नले अहिले संस्थापन इतर पक्ष सशंकित रहेको छ । 

महामन्त्रीद्वय थापा र शर्मासहित गुरुराज घिमिरे, प्रदीप पौडेल लगायतका  युवा नेताहरुले आउदो महाधिवेशनमा पार्टी नेतृत्वमा हस्तक्षेप गर्नुपर्ने निष्कर्षमा पुगिरहेका बेला कोइरालाको पछिल्लो भूमिकाले उनीहरुलाई सोच्न बाध्य बनाएको छ । काँग्रेसको विधान अनुसार सभापति बाहेक अन्य पदबाट पार्टीमा प्रभाव विस्तार गर्न नसकिनेमा थापा र शर्मा स्पष्ट भइसकेका छन् । अहिले महामन्त्री रहेर पनि उनीहरुको न त पार्टीमा न त सरकारमा कुनै भूमिका देखिदैन । यस्तो अवस्थामा अब गगन थापा आउदो महाधिवेशनआमा सभापति मै उठ्ने तयारी आन्तरिक रुपमा गरिसकेको बताइन्छ ।       

देउवा र कोइरालाको हिचमिच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले छोडेर काँग्रेसको साथमा आएर पुन: गठबन्धन गरेपछि बढ्न थालेको कांग्रेसजन बताउछन् । प्रचण्ड नेतृत्वको सरकारमा पठाउने मन्त्री छनौटको विषयमा भएका पटक पटकका छलफल पछि कोइरला देउवासँग नजिकिएको बताइन्छ । कांग्रेसबाट मन्त्री छान्दा कोइरालाले आफु पक्षको भागबण्डामा अडान नलिएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत असन्तुष्ट बनेका थिए । कोइरालाले थापा र शर्मासहितका आफु पक्षका नेताहरुको चाहना अनुसारका नेतालाई मन्त्री बनाउन भूमिका नखेलेको र भागबण्डामा समेत अडान नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि कोइरालामाथि त्यसपछिको पुस्ताका नेताहरुले अविश्वास बढेको दाबि गरिएको छ । त्यति मात्र होइन पछिल्लो समयमा सरकारले गरेका निर्णयहरुका बारेमा महामन्त्री गगन थापाले सार्बजनिक रुपमा नै असन्तुष्टि व्यक्त गरिरहेका छन् भने कोइराला सरकारका निर्णयका विषयमा मौन प्राय: छन् । यसले संस्थापन इतर पक्षलाई त झस्काएको छ नै अर्को तर्फ देउवापछि उनको बिडो सम्हाल्ने आशा गरेर बसेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्काहरुलाई पनि सशंकित बनाएको कांग्रेस वृतमा चर्चा छ ।

अर्कोतर्फ सभापति देउवाले पार्टीमा आफ्ना विरोधीहरुलाई उपयोगको रणनीति बनाएको स्पष्ट नै देखिन्छ । गत महाधिवेशनमा आफ्ना विरोधी रहेका रामचन्द पौडेललाई राष्ट्रपतिको लोभ देखाएर न्युट्रल बनाइदिएका थिए । तर पौडेललाई राष्ट्रपति बनाएर उनले त्यो गुन भने तिरे । तर महाधिवेशन पछिका दिनमा उनले अत्यधिक मत ल्याएर महामन्त्री बनेका गगन थापालाई नजिक बनाएका थिए । उनी एमसीसी पारित हुने बेलासम्म गगनलाई आफ्नो वरिपरी राखेको देखिन्छ । एमसीसी पारित हुने बेलासम्म गठबन्धनका बैठकदेखि अन्य सबै महत्वपूर्ण बैठकमा गगनको उपस्थिति हुने गर्दथ्यो । तर त्यसपछिका बैठकहरुमा एकाएक गगन देखिन छोडे । आफुलाई सभापतिले किनारा गरेको बुझेपछि गगनले सभापतिविरुद्ध र त्यसपछि सरकारका निर्णयका बारेमा पनि आफ्नो धारणा स्पष्ट रुपमा राख्दै आएका छन् र यो क्रम अहिले जारी रहेको छ ।

त्यस्तै सभापति देउवाले अहिले भने कोइरलाको साथ लिएको देखिन्छ । पार्टी भित्र नै ठुलो विरोध भएमा त्यसको असर अहिलेको गठबन्धन सरकारलाई पर्ने र आफ्नो प्रधानमन्त्री बन्ने अर्को अवसर गुम्न सक्नेमा देउवा सचेत छन् । यहि बुझेर नै उनले कोइरालालाई अहिले साथ लिएर अगाडी बढेको बुझ्न सकिन्छ । कोइराला निकट एक नेताले भने खरीबोटसँग कुरा गर्दै शेखर देउवाको उत्तराधिकारी नबन्ने दाबि गरे । उनले घटनाक्रमले त्यस्तो देखिएपनि यो सम्भव नभएको उनको दाबि छ । तर काँग्रेस वृतमा भने देउवाले कोइरालालाई साथमा लिएर एक तीरले दुई निशाना लगाएको चर्चा हुने गरेको छ । पहिलो कोइरालालाई साथ लिदा पार्टी भित्र विवाद छैन भन्ने सन्देश जाने र काँग्रेसका कारण सरकारलाई कुनै समस्या नपर्ने । त्यस्तै दोस्रो अहिलेको गठबन्धनमा कुनै अवरोध नआएमा प्रचण्डसँगको सम्झौता अनुसार आफु फेरी प्रधानमन्त्री बन्न सहज हुने ।

तर काँग्रेसमा एक थरिले भने कोइरालाले देउवासँग हिचमिच बढाएर आफैलाई नोक्सान गरेको विश्लेषण गरिरहेका छन् । कोइरालाका यी गतिबिधिले अब गगनलाई अगाडी बढ्न सहज हुने र संस्थापन इतरको समर्थन गगनले पाउनसक्ने तर्क पनि काँग्रेसमा हुन थालेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै