• २०८१ बैशाख १५ शनिबार

गगन-विश्वप्रकाशको अबको बाटो

kharibot

काठमाडौँ । पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच हिचमिच बढिरहेका बेला काँग्रेसमा अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने आवाज उठ्न थालेका छन् ।

गत महाधिवेसनमा देउवाका प्रतिद्वन्दी रहेका कोइरालाको अहिले सभापति देउवासँगको हिचमिचलाई लिएर काँग्रेसभित्र एक किसिमको तरंग उत्पन्न भएको छ । कोइराला पक्षले यसलाई सामान्य रुपमा लिदै सामसुमको प्रयासमा रहेको देखिन्छ भने कोइरालापछिको पुस्ताले यसलाई गम्भीर रुपमा लिएर समिक्षा गरिरहेको बताइएको छ ।

गत महाधिवेशनपछि काँग्रेसमा सभापति देउवा विरोधी पक्षको नेताको रुपमा तत्कालिन कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलको ठाउ लिएका कोइराला अहिले भने देउवाको नजिक भएको आरोप लाग्न थालेको छ । साथै आउदो महाधिवेशनमा देउवा सभापतिमा लड्न काँग्रेसको विधान अनुसार नै मिल्दैन, यस अवस्थामा अहिले कोइरालाको हिचमिच देउवाको उत्तराधिकारी बन्ने त होइन भन्ने तर्क पनि काँग्रेस भित्र हुन शुरु भएको छ ।

महामन्त्रीद्वय थापा र शर्मासहित गुरुराज घिमिरे, प्रदीप पौडेल लगायतका  युवा नेताहरुले आउदो महाधिवेशनमा पार्टी नेतृत्वमा हस्तक्षेप गर्नुपर्ने निष्कर्षमा पुगिरहेका बेला कोइरालाको पछिल्लो भूमिकाले उनीहरुलाई सोच्न बाध्य बनाएको छ । काँग्रेसको विधान अनुसार सभापति बाहेक अन्य पदबाट पार्टीमा प्रभाव विस्तार गर्न नसकिनेमा थापा र शर्मा स्पष्ट भइसकेका छन् । अहिले महामन्त्री रहेर पनि उनीहरुको न त पार्टीमा न त सरकारमा कुनै भूमिका देखिदैन । यस्तो अवस्थामा अब गगन थापा आउदो महाधिवेशनआमा सभापति मै उठ्ने तयारी आन्तरिक रुपमा गरिसकेको बताइन्छ ।

थापा र शर्माको सम्बन्ध विगतमा उतार चढावपूर्ण रहेपनि सार्बजनिक रुपमा खराब देखिएको छैन । महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार भएकै बेला विश्वप्रकाशले गगनलाई मत मागेका थिए । फरक गुटबाट उम्मेदवार बनेपनि दुवैले महामन्त्रीमा शानदार जित हासिल गरेपछि पार्टीमा उनीहरुको भूमिका सशक्त हुने अनुमान गरिएको थियो ।

तर पार्टीको विधान अनुसार सभापतिमा सबै अधिकार रहेकाले अहिले उनीहरु सेरोमोनियल रुपमा रहेका छन् । मङ्सिर ४  को निर्वाचन पछि भएको संसदीय दलको नेताको निर्वाचनमा विश्वप्रकाशले गगन थापालाई खुलेर सहयोग गरेका थिए । त्यसपछि काँग्रेस भित्र गगन र विश्वप्रकाशको सहकार्य लामो समयसम्म जान सक्ने अनुमान गरिएको थियो । गगनलाई संसदीय दलको नेताको उम्मेदार बन्दै गर्दा शेखर कोइरालालाई आउदो महाधिवेशनमा सभापतिको उम्मेदवार बनाएर जाने सहमति भएको थियो । तर मन्त्री छनौटदेखि पछिल्लो समय सभापति देउवासँग कोइरालाको निकटता बढ्दै गएको घटनाक्रमपछि गगन र कोइरालाबीचको सहमति भत्किएको बुझिएको छ । संस्थापन इतर पक्षमा गगन-विश्वप्रकाश तथा कोइराला पक्ष अलग हुने सम्भावनाका बीच कांग्रेसमा अब नयाँ समीकरण बन्न सक्ने समेत अनुमान भइरहेका छन् । कोइरालासँग निकटता बढाएपछि देउवा क्याम्पका नेताहरुले समेत गगन-विश्वप्रकाशसँग छलफल शुरु गरेको बताइएको छ । तर यस्ता छलफलको परिणाम आउन भने केहि समय लाग्ने देखिन्छ ।

कांग्रेसमा गुट बन्ने र भत्किने पुरानो परम्परा नै रहेको छ तर अहिले महामन्त्री बनेपछि भूमिका विहिन भएका गगन र विश्वप्रकाशको जुगलबन्दीले काँग्रेसलाई नयाँ स्वरूपमा लैजान्छ भन्ने विश्वास गर्नेको समुह ठुलो रहेको छ । कांग्रेसका कार्यकर्ताहरु गगन र विश्वप्रकाश एक भएर अब पार्टीमा निर्णायक हस्तक्षेप गर्नुपर्ने बताउछन् । वैकल्पिक राजनीतिक शक्तिको रुपमा रास्वपाले आफ्नो जरा गाडिरहेको बेला कांग्रेस नेतृत्वमा अब व्यापक रुपान्तरण आवश्यक रहेको देखिएको छ । यसका लागि अब गगन र विश्वप्रकाशको पुस्ता नै शिर्ष नेतृत्वमा जानु पर्ने पार्टीको आन्तरिक र बाह्य अवस्थाले बताइरहेको छ ।

तर कांग्रेसमा अब को सभापति बन्छ गगन या विश्वप्रकाश ? के परम्परागत रुपमा नै एकै व्यक्तिले सबै पट ओगटेर अबको पार्टी र राजनीति चल्न सम्भव छ त ? यी विषयमा गगन र विश्वप्रकाशहरु स्पष्ट हुन जरुरी छ । कांग्रेसलाई रुपान्तरण गर्न र आफ्नो प्रभावलाई आमरुपमा विस्तार गर्न गगनले सरकार र विश्वप्रकाशले पार्टीको नेतृत्व गरेर जाने विकल्प सहि हुन्छ भन्ने धेरै देखिन्छन् ।

सार्बजनिक रुपमा गगनले अहिले सभापतिले नेतृत्व छोड्नुपर्ने माग गर्दै आएका छन् । उनले भनेकै भरमा देउवाले तुरुन्त सभापति छोड्दैनन भन्ने उनलाई राम्रोसँग थाहा छ । तर उनले आउदो महाधिवेशनसम्ममा आफ्नो पक्षमा माहोल बनाउने अस्त्रको रुपमा अहिले देउवालाई नेतृत्व छोड्न सार्बजनिक रुपमा बोलिरहेका छन् । तर यसले कांग्रेसमा रहेका तेस्रो पुस्ताबीच पद तथा शक्तिको बाँडफाँड कसरी सम्भव छ त ? त्यसैले अहिलेदेखि नै गगन र विश्वप्रकाशहरु को सभापति बन्ने र कसले सरकार चलाउने भन्ने स्पष्ट हुन जरुरी देखिन्छ । कांग्रेसलाई रुपान्तरण गर्न विश्वप्रकाशलाई पार्टीको नेतृत्वमा सघाएर गगनले आफुलाई स्पष्ट रुपमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुनै अहिलेको कांग्रेसभित्रको सबैभन्दा उत्तम विकल्प देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै