• २०८१ बैशाख १६ आइतबार

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण

kharibot

काठमाडौँ । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । 

आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा युएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए । 

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली श्रमिकलाई युएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्था र जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरणका विषयमा प्रस्ताव राखिएको थियो ।  

नेपालका तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गरेका मन्त्रालयका सहसचिव राजिव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकनका साथै नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानूनको जानकारी दिएका थिए । उनले नेपाली श्रमिकको विवरण तथा अलेखबद्धरूपमा युएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरणका विषयमाथि छलफलको प्रस्ताव राखेका थिए ।  

नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियाजस्ता विषयमाथि छलफल भएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए ।   

बैठकमा युएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अब्दुल्ला अलनुइमीले नेपाल सरकारका तर्फबाट राखिएका प्रस्ताव सम्बोधन गर्न युएईको श्रम बजारको अवस्था चित्रण गर्दै आफ्नो कार्यदल र मानव संसाधन र प्रवासी मन्त्रालय सकारात्मक रहेको धारणा राखे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै