• २०८१ बैशाख १६ आइतबार

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

kharibot

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ ।

चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ ।

छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे ।

उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजनासहित समय तालिका बनाएर अगाडि बढ्नसमेत सचिवहरूलाई निर्देशन दिए।

“आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी थाल्नुस् ।

बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ”, सचिवहरूलाई निर्देशन दिदै अर्थमन्त्री महतले भने ।

मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र मुख्यसचिव डा वैकुण्ठ अर्यालले पनि बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिए ।

बैठकमा अर्थ मन्त्रालयका तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिउपर मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै