• २०८१ जेठ ४ शुक्रबार

चितवनमा डुवान रोक्न नाला निर्माण

kharibot

चितवन । वर्षातका समयमा चितवनका धेरै सरकारी कार्यालय डुवानमा पर्ने गर्दछन् ।

कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ । भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समितिको कार्यालय लगायतका कार्यालय वर्षातका समयमा डुवानमा पर्ने गरेका छन् । 

यीसँगै रहेका ‘गेष्टहाउस’ चौर पनि वर्षातभर पानी जम्ने गर्दछ । यसका कारण नियमित सेवा प्रवाह प्रभावित हुने गरेको छ । 

ती क्षेत्रमा डुवान रोक्नका लागि यसवर्ष ढल निर्माण थालिएको छ । वर्षातका समयमा पानी जम्ने समस्या बढेपछि भरतपुर महानगरपालिका–१० मा ढल निर्माणको कामलाई तीव्र बनाइएको छ ।

अधिकांश सरकारी कार्यालय रहेको यस वडामा वर्षात सुरु भएँंगै पानी जमेर निकास नहुँदा समस्या बन्दै आएको थियो ।

डुवानमा पर्न थालेसँगै वडा नं १० ले दुई स्थानबाट पानीको निकासका लागि ढल व्यवस्थापन गर्न लागेको हो ।

महानगरपालिकाको रु एक करोड ६७ लाखको लागतमा काम भइरहेको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।

एकातर्फको ढल चौबिसकोठी र अर्को तर्फको बाइपास रोडको थानिचोकमा निकासका लागि नाली बनाउन लागिएको हो ।

१ दशमलब ५ किलोमिटर नाली वनाएर जम्ने पानीको व्यवस्थापन गर्न लागिएको उनले बताए । यस क्षेत्र हुँदै जाने नारायणी लिफ्टका नहर अतिक्रमण भएपछि पानी जम्ने समस्या बढेको हो ।

यस क्षेत्रका नहर मिचेर सडक र भौतिक संरचना निर्माण भएका छन् । महानगरका अन्य क्षेत्रमा पनि ढल निर्माणका लागि गुरुयोजनाको काम भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै