• २०८१ बैशाख २८ शुक्रबार

पुटिन र बेलारुसका राष्ट्रपति लुकाशेन्कोबीच भेटवार्ता

kharibot

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले वाग्नर सेनाको विद्रोहपछि पहिलो पटक भेटवार्ता गरेका छन् । यस क्रममा दुवै नेताले वाग्नर प्रमुख प्रिगोगिनलगायत धेरै विषयमा छलफल गरेको मिडिया रिपोर्टमा बताइएको छ । दुबैको भेटको भिडियो रुसको आधिकारिक मिडिया एजेन्सी टासले शेयर गरेको छ ।

भिडियोमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युक्रेन आक्रमणको बारेमा बताइरहेका छन् । पुटिनले भनेका छन्- 'हामीले युक्रेनको काउन्टर अफेन्सिभलाई पूर्ण रूपमा असफल बनाएका छौं । लुकासेन्कोले मजाकको स्वरमा भनेका थिए कि साँचो अर्थमा युक्रेनले रुसको आक्रमणको सामना गर्न सक्दैन । यसबारे पुटिनले भने – प्रतिशोधात्मक हमला भएको थियो तर रुसले त्यसलाई असफल बनायो ।

रोयटर्सले टेलिग्राम च्यानललाई उद्धृत गर्दै भनेको छ, यस भेटमा लुकासेन्कोले पुटिनलाई बेलारुस वाग्नर आर्मी लडाकुहरूले गर्दा समस्यामा परेको बताएका थिए ।

लुकासेन्कोले भने, निजी सेनाका सिपाहीहरू भन्छन्- वारसा र रेजासोभ वरिपरि घुमौं । वास्तवमा, पोल्याण्डको सिमाना बेलारुससँग छ, केही समयको लागि वाग्नरका लडाकुहरूलाई त्यहाँ राखिएको छ । यी लडाकुहरूले बेलारुसका सैनिकहरूलाई तालिम दिइरहेका छन् ।

यसै क्रममा पुटिनले लुकासेन्कोसँग सुरक्षाबारे छलफल गर्ने बताएका छन् । यसका लागि उनले आफ्नो कार्यतालिकामा परिवर्तन गरेका छन् । लुकासेन्को र पुटिनबीचको यो भेट महत्वपूर्ण रहेको स्पष्ट छ । वाग्नरको विद्रोह पछि, बेलारुसका राष्ट्रपतिले प्रिगोगिन र पुटिनबीच सम्झौता गराएका थिए ।

बेलारुसमा वाग्नर लडाकुको आगमनपछि पोल्याण्डले आफ्नो सुरक्षाका लागि सीमामा थप सैनिक तैनाथ गरेको छ । योसँगै पुटिनले पोल्याण्डले बेलारुसविरुद्ध कुनै कारबाही गरेमा त्यसलाई रुसमाथिको आक्रमण मानिने बताएका छन् । उनले बेलारुसलाई सबै किसिमले सहयोग गर्ने बताएका छन् ।

युक्रेन युद्धपछि, बेलारुस रूसको लागि एक महत्वपूर्ण साझेदार साबित भएको छ । रोयटर्सको रिपोर्टका अनुसार बेलारुसमा रुसी सैनिकलाई पनि तालिम दिइएको छ । योसँगै रुसले पनि बेलारुसमा आफ्ना आणविक हतियार पठाएको छ । तथापि, बेलारुसका सैनिकहरूले युद्धमा रूसको पक्षमा लडेका थिएनन् ।

रुसको निजी सेना वाग्नरका प्रमुख येभगेनी प्रिगोगिन पुटिनविरुद्ध विद्रोह गरेपछि गत बुधबार पहिलो पटक देखा परेका थिए । प्रिगोगिनले बेलारुसमा आफ्ना लडाकुहरूलाई स्वागत गर्दै एउटा भिडियो जारी गरेका थिए । उनले भने- 'वाग्नरले अब युक्रेन युद्धमा भाग लिने छैनन् ।' उनले आफ्ना लडाकुहरूलाई अफ्रिकाको नयाँ यात्रा सुरु गर्न आदेश दिएका थिए ।

यस भिडियोमा एक व्यक्ति प्रिगोजिनलाई वाग्नरको झण्डा हस्तान्तरण गरिरहेको देखिन्छ । रोयटर्सका अनुसार प्रिगोजिनले भिडियोमा भनेका छन्– 'हामीले युक्रेनमा सम्मानका साथ लड्यौं । तपाईं सबैले रूसको लागि धेरै गर्नुभयो । युक्रेनमा अहिले के भइरहेको छ त्यो लज्जास्पद छ र हामीले यसमा संलग्न हुन आवश्यक छैन । हामी यो युद्धमा फर्कन सक्छौं, तर अहिलेको लागि हामी केही समय बेलारुसमा बस्नेछौं र त्यसपछि हामी यहाँको सेनालाई विश्वको दोस्रो शक्तिशाली बनाउने छौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै