• २०८१ बैशाख २१ शुक्रबार

सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा- उपप्रधानमन्त्री श्रेष्ठ

kharibot

महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् । 

आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याए । 

पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्व बोध गराउनैपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो ।

“हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्”, उनल भने, “यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनप¥यो ।” 

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने प्रतिबद्धता जनाए । 

विद्यालयले आगामी १० वर्षे शिक्षाको प्रारूप, पठनपाठन व्यवस्थापन र व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्ने हेतुले तीन दिने सम्मेलन आयोजन गरिएको प्रधानाध्यापक दीपकराज बरालले जानकारी दिए । 

मुलुकका ख्याति प्राप्त शिक्षाविद्हरूलाई सहभागी गराई विद्यालयको सेवा क्षेत्रका, आमा समूहका अगुवा, अभिभावक र शिक्षकलाई विभिन्न समूहमा छलफल गराई सुझाव लिने मुख्य ध्येय रहेको प्रअ बरालको भनाइ छ ।

सम्मेलनको उद्घाटन सत्रमा शिक्षाविद्हरू डा बलराम तिमल्सिना, पूर्ण दवाडी र समाजशास्त्री विमल फुँयालसहितका विज्ञले तीन दिन छलफल गरिने विषयबारे जानकारी दिए । सामुदायिक विद्यालयले शैक्षिक सम्मेलन नै आयोजन गरेर असल प्रयत्न अघि बढाएको यो सकारात्मक कदम भएको शिक्षाप्रेमीहरूको टिप्पणी छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै