• २०८१ बैशाख २० बिहीबार

साउदीमा नेइमारको राजसी मेजमानी हुने

kharibot

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारले पिएसजी छोडेर साउदी क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेर सबै फुटबल प्रेमीको ध्यान फेरी एक पटक साउदी लिगतर्फ आकर्षित गरेका छन् ।

साउदी क्लबले अहिले युरोपमा खेलिरहेका प्रमुख खेलाडीमाथि पैसाको बर्षा गराइरहेका छन् । क्रिस्टियानो रोनाल्डोले शुरु गरेको साउदी यात्राको अभियानमा मिसिने पछिल्लो खेलाडी बनेका छन् नेइमार ।

अल हिलालले यसअघि किलीयन एम्बाप्पेलाई गरेको मेघा अफर उनले अस्वीकार गरेपछि नेइमारसँग सम्झौता गर्न सफल भएको छ ।

अल हिलालले नेइमारलाई भित्र्याउन पैसाको वर्षा नै गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । साउदी सरकारको पब्लिक इन्भेस्टमेन्ट फन्डको समेत लगानी रहेको अल हिलालले नेइमारलाई बार्षिक १५० मिलियन डलर पारिश्रमिक दिने छ । दुई सिजनमा नेइमारले अल हिलालबाट ३०० मिलियन डलर पारिश्रमिक पाउने छन् । यसका अलावा साउदीले नेइमारलाई साउदीमा रहदा राजसी मेजमानी गर्ने भएको छ ।  

साउदीले नेइमारलाई स्विमिङ पुलसहितको २५ बेडरुमको घर उपलब्ध गराउने छ । जसमा २४ घण्टा ५ स्टाफ हुने छन् । यसका साथै उनलाई लाम्बोर्गिनीसहितका तीन लक्जरी कार उपलब्ध गराउने छ ।

मिडिया रिपोर्टका अनुसार नेइमारले साउदीमा छुट्टीमा गरेका खर्चका सबै बिल क्लबले तिर्ने छ । साथै अल हिलालले नेइमारलाई साउदी बाहिर जानु पर्ने भएमा निजी विमान उपलब्ध गराउने छ । त्यस्तै उनको सामाजिक सञ्जालमा साउदी अरेबियाको बारेमा गरेका हरेक पोष्ट वापत ५ लाख ४५ हजार डलर उपलब्ध गराउने छ ।

६ सिजन पिएसजीमा खेलेका नेइमारले साउदी क्लब अल हिलालसँग सम्झौताको औपचारिक घोषणा भएसँगै अल हिलाललाई समेत यसको  फाइदा देखिन शुरु भएको छ । नेइमारको नाम लेखिएको अल हिलालको जर्सी केहि घण्टामै दसौं हजार बिक्रि भएको मिडिया रिपोर्टमा बताइएको छ ।  साथै अल हिलालका सामाजिक सञ्जालमा फलोअर समेत बढेका छन् । नेइमारलाई भित्र्याएको २४ घण्टामा अल हिलालले इन्स्टाग्राममा मात्र करिब २ मिलियन फलोअर बढेका छन् । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै