• २०८१ बैशाख २० बिहीबार

भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा फिजियोथेरापी सेवा बन्द

kharibot

भादगाउँ (भक्तपुर) । भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा  फिजियोथेरापी सेवा बन्द भएको छ ।

यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसले केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ ।

केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । औषधीसमेत निःशुल्क वितरण गर्दै आएको केन्द्रले फिजियोथेरापी र अकुपञ्चर सेवासमेत निःशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ । 

निःशुल्क सेवाभित्र नपरेका औषधीसमेत आफ्नै फार्मेसीमार्फत सहुलियत दरमा बिक्री वितरण गर्दै आएको केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बताए । गत वर्ष फिजियोथेरापिष्टले कारारमा रही सेवा दिँदै आएकामा यस वर्ष उक्त दरबन्दी काटिएपछि सेवा पुनः सञ्चालन गर्न नसकिएको उनले बताए । 

 “तलबका लागि बजेट छ । तर मन्त्रालयले यस वर्षको दरबन्दीमा फिजियोथेरापिष्टको दरबन्दी कटौती गरेकाले हाल सेवा पुनः सञ्चालन गर्न सकिएको छैन,” प्रमुख गिरीले भने । उनले मन्त्रालयमा यस बारेमा जानकारी गराएर दरबन्दीका लागि ताकेता गरिरहेको जानकारी दिए । 

केन्द्रमा गत आवदेखि फिजियोथेरापी र अकुपञ्चर सेवा सुरु भएको थियो । ती सेवाका कारण आयुर्वेदिक उपचार पद्धति र केन्द्रको सेवामा स्थानीयको आकर्षण बढेको थियो । सोही कारण केन्द्रमा दैनिक एक सयभन्दा बढी सेवाग्राहीको चाप हुने गरेको प्रमुख गिरीले बताए । 

उनका अनुसार आव २०७८/७९ मा केन्द्रबाट १४ हजार एक सय ४० जनाले सेवा लिएका भने आव २०७९/८० मा १९ हजार आठ सय ८० ले सेवा लिएका थिए । फिजियोथेरापी सेवा सुरु भएको छोटो समयमा करिब एक हजार जनाले सेवा लिइसकेका उनले जानकारी दिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै