• २०८१ बैशाख १७ सोमबार

साहित्यकार भट्टराईको ‘ठाँटीको घाम’सार्वजनिक

kharibot

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो पुस्ताका चर्चित साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ । 

घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले संयुक्तरुपमा सो कृतिको विमोचन गरेका थिए । सो अवसरमा उनीहरुले साहित्यकार भट्टराईलाई अगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिए ।  

ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत भट्टराईको यसअघि ‘साँझमा पारिलो तारा २०६८’ (कविता सङ्ग्रह) र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

सामाजिक जनजीवनलाई जीवन्त एवं सटिकरुपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३  खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन् । उपन्यास २४५ पृष्ठको छ । उपन्यासका लेखक  भट्टराईले भने, “उपन्यासका  कथावस्तु र पात्र मेरै गाउँ घर वरिपरिका हुन् । केही मेरो बुबाको साथीसमेत उपन्यासका वस्तुमा पात्रका रुपमा उभिएका छन् । गाउँ घरमा भएको सामाजिक यथार्थ परिवेश र समस्यालाई  केन्दमा्र राखेर उपन्यासको भाव भूमि उनिएका छन् ।” 

सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भने, “यस उपन्यासले समाजमा धेरै कुरा सिकाएको छ । उपन्यास मनदन पुरस्कार प्राप्तिका लागि दाबी गर्न योग्य  छ । म एकपटक आम पाठकले उपन्यासलाई अध्ययन गर्न आग्रह गर्दछु । ” 

साहित्यकार तथा उपप्राध्यापक शान्तिराम नेपालले ‘ठाँटीको घाम’ उपन्यासले नेपाली समाजलाई नयाँ ढङ्गबाट व्याख्या, विश्लेषण गरेको जनाउँदै नेपाली उपन्यासमा यसले नयाँ आयाम थपेको बताए । उनले भने, “गालामा हात राखेर उपन्यासका कथा बगेजस्तै कोही कसैको मन उपन्यास पढ्दा बगिरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थ्यो । उपन्यासमा प्रस्तुत भएको विषयवस्तु, पात्रको चरित्रका बारेमा प्रस्तुत गर्दा प्रायः सबैले एक पटक आफ्नो बाल्यकालमा विद्यालय गएको सम्झना आइरहन्थ्यो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै