• २०८१ बैशाख १७ सोमबार

दशैमा उपत्यकामा १०३ घटना: दुईको मृत्यु, ११८ घाइते

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ ।  

विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना  नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उहाँका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ ।  

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए । 

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, “सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।”

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने देखिए । यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिए ।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरु आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो । 

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

जुवा तासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कूल २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट रु पाँच लाख नगद बरामद गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै