• २०८१ बैशाख १८ मंगलबार

मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की !

kharibot

नयाँ दिल्ली । मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । उनलाई एक अज्ञात व्यक्तिले २० करोड रुपैयाँ मागेको इमेल पठाएको छ । इमेलमा आफुहरुसँग देशका उत्कृष्ट शूटरहरू रहेको र पैसा नदिए गोली हानेर मार्ने धम्की दिइएको छ । यो धम्कीपूर्ण इमेल २७ अक्टोबर साँझ अम्बानीलाई यो धम्की आएको बताइएको छ ।

इमेलमा लेखिएको छ-  'यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौं, हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन् ।'

यो इमेल प्राप्त गरेपछि, मुकेश अम्बानीका सुरक्षा इन्चार्जको उजुरीको आधारमा आईपीसीको धारा ३८७ र ५०६ (२) अन्तर्गत अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यसअघि पनि अम्बानी र उनको परिवारलाई पटकपटक ज्यान मार्ने धम्की आएको थियो । जसका कारण गत वर्ष २९ सेप्टेम्बरमा केन्द्रीय गृह मन्त्रालयले उनको सुरक्षालाई जेड श्रेणीबाट जेड प्लस बनाएको थियो । सुरक्षा खर्च मुकेश अम्बानीले बेहोरेका छन् । यो खर्च मासिक ४० देखि ४५ लाख रुपैयाँ हुने बताइन्छ ।

गत जनवरी १०, २०२३ मा मुम्बईको धिरुभाई अम्बानी इन्टरनेशनल स्कूलमा बमको धम्की दिइएको थियो । फोन गर्ने व्यक्तिले विद्यालयमा टाइम बम राखेको दाबी गरेका थिए । यसपछि फोन काटियो ।

त्यसअघि अक्टोबर ५, २०२२ मा रिलायन्स फाउन्डेशन अस्पतालमा बमको धम्की आएको थियो । अस्पतालको ल्यान्डलाइन नम्बरमा एक अपरिचित व्यक्तिबाट दुई पटक कल आएको थियो, जसमा फोन गर्ने व्यक्तिले अम्बानी परिवारलाई मार्ने धम्की दिएको थियो । त्यसपछि अस्पताल र एन्टिलिया (मुकेश अम्बानीको घर) को सुरक्षा बढाइएको थियो ।

त्यसैगरी १५ अगस्ट २०२२ मा मुकेश अम्बानीको परिवारलाई ज्यान मार्ने धम्की पनि आएको थियो । मुम्बई पुलिसका अनुसार रिलायन्स फाउन्डेशन अस्पतालको डिस्प्ले नम्बरमा धम्कीपूर्ण फोन कल गरिएको थियो। फोन गर्ने व्यक्तिले तीन घण्टाभित्र आफ्नो सम्पूर्ण परिवारलाई नष्ट गरिदिने धम्की दिएका थिए । 

त्यस्तै फेब्रुअरी २०२१ मा, विस्फोटक पदार्थले भरिएको कार एन्टिलिया नजिकै भेटिएको थियो ।

फेब्रुअरी २०२१ मा, एन्टिलिया बाहिरबाट विस्फोटक पदार्थले भरिएको एसयूभी बरामद भएको थियो, जसमा २० जिलेटिन स्टिक र एउटा चिठ्ठी भेटिएको थियो । पत्रमा मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीलाई धम्की दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै