• २०८१ बैशाख १५ शनिबार

रामग्राम स्तूपमा उत्खनन, भेटिएला त इतिहास ?

kharibot

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)  । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ । रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए । 

भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा भग्नावशेष खोज्न उत्खनन सुरु गरिएको उनको भनाइ छ । उनका अनुसार विहार र पोखरीको पर्खाल एउटै छ वा फरक छ भन्ने विषयमा पनि अध्ययन गरिनेछ ।

विहार निकै ठूलो क्षेत्रमा फैलिएको प्राध्यापक कनिङमको भनाइ छ । यस क्षेत्रमा रहेको भग्नावशेष कहिले, कसरी र कस्को समयको बनेको हो ? भन्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ । 

रामग्राम स्तूपको विकासका लागि लुम्बिनी विकास कोषले बनाएको गुरुयोजनाअन्तर्गत उत्खनन सुरु भएको हो । स्तूप वरपर हाल विभिन्न भौतिक संरचना निर्माण भएका छन् । बिना योजनाको निर्माण गरिने भौतिक संरचनाले स्तूपको पुरातात्विक महत्वमा असर पर्ने उनको भनाइ छ । उत्खननका क्रममा हाल केही इँटा तथा पर्खाल जस्तो देखिने संरचना भेटिएको छ । 

लुम्बिनी विकास कोषको वरिष्ठ पुरातत्वविद् अधिकृत हिमाल उप्रेतीले रामग्राम स्तूपमा पहिले मानव बस्तीको विकासबारे अध्ययन गरिने बताए । सन् २००८ तथा २००९ मा स्तूपमा जियोफिजिक्स गर्दा जमिनको सतहमुनि ठूलो विहार र पोखरीको भगनावशेष देखिएको पुरातत्वविद्ध उप्रेतिले बताए । 

स्तूपमा सन् २००४ मा पहिलो पटक उत्खनन गरिएको थियो । ओरियन्टल कलचरल हेरिटेज प्रोटेक्सन अलाइन्स फन्डको आर्थिक सहयोग तथा युनेस्को, दुरहम विश्वविद्यालय र लुम्बिनी विकास कोषको संयोजनमा भइरहेको उत्खनन २८ दिनसम्म चल्नेछ ।-रासस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै