• २०८१ बैशाख १८ मंगलबार

सङ्खुवासभा र गोरखामा पनि नेपाल संवत् मनाइयो

kharibot

गोरखा । गोरखाका नेवार समुदायले आज सांस्कृतिक झाँकी तथा र्यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन् । नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्याली गरेर नेपाल संवत् मनाइएको हो ।

गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो ।

र्यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले इतिहास, भाषा, संस्कृति र संस्कारसँग जोडिने भएकाले सबै जातजातिको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएसँगै नेपाल संवत् मनाउन थालिएको हो ।

त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष विष्णुराना मगर र नेवाः देय् दवुका सल्लाहकार मोहनलाल श्रेष्ठलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, सङ्खुवासभाको खाँदबारी र चैनपुरमा नेवाः देय् दबुले शान्ति र्याली निकालेको थियो । खाँदबारीको बुद्ध चोकबाट प्लेकार्डसहित निस्किएको र्यालीले नगरका विभिन्न स्थान परिक्रमा गरेको थियो ।

र्यालीपछि आयोजित कार्यक्रममा नेवाः देय् दबुका सदस्यले नेपाल संवत्लाई राष्ट्रिय संवत् रूपमा आजबाट प्रचलनमा ल्याएको र सरकारी कागजातमा उल्लेख गर्ने सरकारको निर्णयको स्वागत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै