• २०८१ बैशाख १७ सोमबार

गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छ– डब्लुएचओ प्रमुख

kharibot

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले प्यालेस्टिनी क्षेत्रमा स्वास्थ्य अवस्थाबारे छलफल गर्नका लागि डब्लुएचओ कार्यकारी बोर्डको विशेष सत्र बोलाएको छ । छलफलमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ‘असम्भव’ कामको सामना गर्ने चिकित्सकहरूसँग गाजामा बिग्रँदै गएको स्वास्थ्य प्रणालीबारे जानकारी दिए । 

“स्वास्थ्यमाथि द्वन्द्वको प्रभाव विनाशकारी छ”, जेनेभामा भएको बैठकको प्रारम्भमा उनले भने, “धेरैभन्दा धेरै मानिस साना साना क्षेत्रमा गइरहँदा भीडभाड, पर्याप्त भोजन, पानी, आश्रय र सरसफाईको कमीले रोग फैलिने स्थिति उत्पन्न भइरहेको छ ।”

टेड्रोसले महामारीसम्बन्धी रोगका चिन्ताजनक लक्षणहरू रहेको भन्दै बिग्रँदै गएको अवस्था र चिसोको अवस्थाले जोखिम अझ बढ्ने आशङ्का रहेको उल्लेख गरे । “गाजाको स्वास्थ्य प्रणालीले घुँडा टेकेको छ र ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन्, तीमध्ये दुई वटा मात्र तटीय क्षेत्रको उत्तरमा छन्”, उनले भने । 

उनले अस्पतालहरूमा तीन हजार पाँच सय शय्यामध्ये एक हजार चार सय शय्या अहिले पनि उपलब्ध रहेको बताए । उनका अनुसार दक्षिणी गाजाका दुई प्रमुख अस्पतालले आफ्नो शय्या क्षमताभन्दा तीन गुणा अधिकमा काम गरिरहेका छन् । आपूर्ति सकिँदै गइरहेको छ र हजारौँ विस्थापितलाई ती अस्पतालले आश्रय दिइरहेका छन् ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजराइली अधिकारीहरूले बताएका छन् । इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार सात सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

टेड्रोसका अनुसार डब्लुएचओले अक्टोबर ७ पछि गाजा र कब्जा गरिएको पश्चिम किनारमा स्वास्थ्य सेवामा चार सय ४९ भन्दा धेरै हमला र इजराइलमा स्वास्थ्य सेवामा ६० हमला भएको पुष्टि गरेको छ । 

“स्वास्थ्यकर्मीको काम असम्भव छ र उनीहरू सिधै हमलाको निशानामा छन्”, टेड्रोसले भने, “संक्षेपमा भन्दा स्वास्थ्य आवश्यकताहरू नाटकीयरूपमा बढेको छ र स्वास्थ्य प्रणालीको क्षमता पहिलाको तुलनामा एक तिहाइले कम भएको छ, शारीरिक तथा मानसिकरूपमा थकित भएका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न डब्लुएचओ गाजाको मैदानमा छ र अकल्पनीय अवस्थामा उनीहरूले आफ्नो उत्कृष्ट काम गरिरहेका छन् ।”

टेड्रोसले निष्कर्ष निकाल्दै भने, “शान्तिबिना कुनै स्वास्थ्य छैन र स्वास्थ्यबिना कुनै शान्ति छैन ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै