• २०८१ बैशाख १५ शनिबार

फास्ट ट्रयाक निमार्ण प्रगतिप्रति सांसदहरु असन्तुष्ट: ६ वर्षमा मात्रै २८ प्रतिशत काम

kharibot

काठमाडौं । काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइलाई लिएर सांसदहरुले चरम असन्तुष्टि जनाएका छन् । 

बुधबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनाले काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ६ वर्षमा २८.५६ प्रतिश मात्रै भौतिक प्रगति भएको जानकारी दिएपछि सांसदहरुले असन्तुष्टि जनाएका हुन्। 

समितिको बैठकमा फास्ट ट्याक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माण सुरु भएको ६ वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति २८.५६ प्रतिशत र वित्तिय प्रगति २९.४४ प्रतिशत जानकारी दियो । 

नेपाली सेनाका प्राविधिक महासेनानी तथा योजना तथा डिजाइन महाशाखा प्रमुख भरतलाल श्रेष्ठले, कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको द्रुतमार्गको वित्तिय प्रगति २९.४४ प्रतिशत जानकारी दिए ।  उनका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०÷८१ मा द्रुतमार्गको भौतिक प्रगति ३२.६६ प्रतिशत र वित्तीय प्रगति १०.८ प्रतिशत रहेको छ । 

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडौं–तराई मधेश द्रुतमार्ग प्रगति सन्तोषजनक नभएको बताउँदै समयमै आयोजना सम्पन्न हुनेमा शंका व्यक्त गरे ।  प्रधानसेनापति प्रभुराम शर्मा र आयोजनाका अधिकारीहरुसँग सहभागी छलफलमा पाण्डेले २०८३ चैतभित्र आयोजना निर्माण सम्पन्न हुन्छ कि हुँदैन भनेर सेनालाई प्रश्न सोधे । उनले भने, ‘काठमाडौं–तराई÷मधेश फास्ट ट्याकको प्रगती जति हुनुपर्ने हो त्यो देखिएन । यसमा प्रगति न्यून नै देखियो । यो योजना ०८३ साल चैत्र मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ, अहिलेको कामको प्रगती हेरेर थपेको टाइमभित्र हामीले आयोजना पूरा गर्न सक्छौं की सक्दैनौ ?’

यस्तै फास्टट्याकबारे सेनाको प्रगति विवरण सुनेपछि रास्वपा सभापति रवी लामिछानेले पनि सेनाको काम निकै सुस्त गतिमा भैरहेको भन्दै फास्ट ट्याकलाई चिप्लेकिरा र कछुवाको गतिमा दाँजेर व्यङ्ग्य गरे । 

कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमा ६ स्थानमा सुरुङमार्ग बन्दैछ । सुरुङमार्गको लम्बाइ १०.०५५ किलोमिटर रहेको सेनाले जनाएको छ । देवीचौर १ किलोमिटर, सिसौटार ०.३९ किलोमिटर, चन्द्राम भीर २.२५ किलोमिटर, महादेवडाँडा ३.३५५ किलोमिटर, धेद्रे १.६३० किलोमिटर र लेनडाँडा १.४३ किलोमिटर लामो  ३ स्थानमा सुरुङमार्ग बन्दैछन् । 

आयोजनामा कुल ८९ वटा पुल बनाउने योजना छ । जसको लम्बाइ १२.८८५ किलोमिटर हुन आउँने र दुई स्थानमा विश्राम स्थल तथा ३ स्थानमा इन्टरचेन्ज रहने सेनाले जनाएको  छ । टोल प्लाजा ३ स्थानमा रहने यो आयोजना निर्माण सम्पन्न भएपछि काठमाडौंबाट निजगढको यात्रा १ घण्टा २ मिनेटमा छोटिने छ ।

तर सेनाले भने समितिलाई इन्ट्री प्वाइन्ट खोकनाको जग्गा विवाद अझै नटुंगिएको, कोभिडको असर परेकोजस्ता विविध कारणले काममा ढिलाई भएको दाबी गरेको छ । 

सरकारले २०७४ वैशाख १ मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । पछिल्लो पटक थप भएको म्यादअनुसार ०८३ चैत मसान्तमा सेनाले फास्ट ट्याक निर्माण सम्पन्न गर्नुपर्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै