• २०८१ बैशाख १७ सोमबार

पर्यटन प्रवर्द्धन गर्न मस्र्याङ्दीमा मोटरबोट चलाइने

kharibot

दमौली। तनहुंको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ । 

आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन सञ्चालन गर्न लागेको हो ।

गण्डकी प्रदेशको प्रवेशद्वारस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवद्र्धनका लागि यो काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । 

यसका लागि गाउँपालिकाले मोटरबोट तथा पर्यापर्यटन सञ्चालन तथा व्यवस्थापनका लागि बोलपत्र आह्वान गरिसकेको छ । 

उनले भने, “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यस ठाउँमा रोक्न सकिन्छ ।” मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुराउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए । उनले भने, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यस विषयमा समन्वय गरेका छौँ । यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ ।”

अध्यक्ष चुमानका अनुसार चिनियाँ अधिकारीहरुसँग पनि यस विषयमा कुराकानी भएको छ । नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका बासिन्दाको जीविकोपार्जनमा पनि सहयोग पुग्छ । 

यस्तै गाउँपालिकाले वडा नं १ को आँधीमूलमा कृत्रिम ताल बनाउने योजना अगाडि सारेको छ । आँधीमूललाई धार्मिक तथा पर्यटकीयस्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडि सारिएको उनको भनाइ थियो ।  वडा नं १ स्थित आँधीमूलमा ताल बनाउन चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरिएको छ । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा त्यहाँ पुग्न सकिन्छ ।

आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । त्यहाँ ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ ।

आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । यहाँको वातावरण रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेक सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बोका तथा कुखुरालाई बली दिने गरिन्छ । 

सत्रसयदेखि आँधीमूलसम्म पुग्ने सडक कालोपत्रे भइसकेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको यहाँ देवीको दर्शन गरे मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् । 

गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवान्का आकृति बनाइएको छ । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न यहाँका प्राकृतिक ढुङ्गामा भगवान्का आकृति कुँदिएको हो । 

यहाँ थप पूर्वाधार निर्माणका लागि रु पाँच करोड आवश्यक पर्ने देखिएकाले थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । 

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा जीप फ्लायरको सम्भाव्यता अध्ययन पनि गर्न लागिएको छ । छिम्केश्वरी मन्दिरको प्रवद्र्धनका लागि यो योजनाबारे पनि अध्ययन गरिने अध्यक्ष चुमानले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै