• २०८१ बैशाख १६ आइतबार

राज्यको नजरमा नपरेको खोटाङको भरङ्गे

kharibot

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले एकान्तमा पर्दछ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जोकोही मानिस हत्तपत्त पुग्दैनन् । 

कति त चुनावका बेला पनि भोट माग्न पनि भरङ्गे पुग्दैनन् । “चुनावका बेला भोट माग्न उम्मेदवार त के ? नेतासमेत आउँदैन । यो ठाउँमा उम्मेदवारका लागि भोट माग्न हाम्रै दाजुभाइ आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन्”, स्थानीय वीरबहादुर तामाङले भने, “एघार घरपरिवार बसोबास गरिएको हाम्रो गाउँ भरङ्गेको विकासमा अहिलेसम्म कसैले ध्यान दिएका छैनन् । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सकखण्डको हुर्लुङबाट जालपा जाने सडक हुँदै कच्ची शाखा सडकबाट भरङ्गे पुगिन्छ । भरङ्गेमा ठूलाठूला डिलमा हिँड्नका लागि भर्‍याङजस्तो खुड्किलो बनाइएका कारण पछिल्लो समय गाउँको नाम नै भरङ्गे रहन पुगेको स्थानीय बासिन्दाले बताएका छन् । साबिकको दिक्तेल गाविस–६ मुडेमा समेटिएको भरङ्गे हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माभित्र पर्छ तर भरङ्गेलाई पूर्वाधार विकासले छुन सकेको छैन । विकासमा पछिपरेको भरङ्गेमा ११ घर तामाङ समुदाय बसोबास गर्छन् । 

सोल्मास्थित वडा कार्यालय पुग्न उनीहरुलाई कम्तीमा पनि पैदल दुई घण्टा हिँड्नुपर्छ । भरङ्गेवासीले आफ्नै खर्चमा दुःखसुख आठ-नौ वर्षअघि विद्युत् पुर्याएका छन् । विसं २०७९ मा वडा कार्यालय सोल्माले विनियोजन गरेको रकमले भरङ्गे पुग्ने कच्ची सडक बनाइएको स्थानीय बासिन्दाले बताएका छन् । भरङ्गेबाट रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपिनी जोड्ने सडक विस्तार गर्न बाँकी नै छ । 

लङ्खुरीबाट खानेपानी योजना ल्याउन भर्खरै नापजाँच भएको बताइएको छ । भरङ्गेमा एक दशकअघि जनसेवा समाज नेपाल जालपाबाट खानेपानी योजना सञ्चालन गरिएको थियो । हुर्लुङ–जालपा सडक निर्माणका क्रममा खानेपानी योजनाको पाइप क्षतविक्षत भएपछि भरङ्गेमा पुनः नयाँ योजना सञ्चालन गर्ने तयारी गरिएको छ । शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत आवश्यकतासँग जुधिरहेका भरङ्गेवासीका लागि अहिलेसम्म कुनै पनि योजना तथा परियोजना पुग्न सकेको छैन । 

आधारभूत तहकै पढाइका लागि भरङ्गेका छात्रछात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण प्राविमा पुग्छन् । जनकल्याण प्राविबाट कक्षा ३ पार गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आवि निगाले पुग्छन् । आर्थिक अवस्था मजबुद हुने अभिभावकले बालबच्चलाई निजी विद्यालयमा लगेर पढाउँछन् । हाल जनकल्याण प्राविमा भरङ्गेका सातजना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक तीर्थ तामाङले बताए । मावली घर भरङ्गे बस्दै आएका विवेक गुरुङ र सुविन तामाङ कक्षा १ मा, विकास तामाङ र समीर तामाङ कक्षा २ मा, सुष्मा तामाङ, सुमिना तामाङ र समीक्षा तामाङ कक्षा ३ मा पढ्छन् । भरङ्गेबाट जनकल्याण प्रावि पुग्न उनीहरुलाई करिब एक घण्टा समय लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

भरङ्गेका बालबालिका नियमित स्कुल जाँदैनन् । घरैमा गएर सम्झाई–बुझाई गर्दा पनि विद्यार्थीको उपस्थितिलाई नियमित गर्न नसकिएको शिक्षकहरु बताउँछन् । सिद्धेश्वरी आधारभूत विद्यालय निगालेमा भरङ्गेका चारजना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा ८ मा, सुशील तामाङ कक्षा ५ मा र सुवास तामाङ कक्षा ४ मा अध्ययनरत छन् । उनीहरुलाई भरङ्गेबाट निगाले आइपुग्न डेढ घण्टा समय लाग्ने गरेको प्रधानाध्यापक बिन्दा थापा बताइन् । 

यस्तै, सिद्धेश्वरी आधारभूत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र सङ्कल्प राई कक्षा ७ मा, प्रदीप राई कक्षा ६ मा, समीक्षा राई कक्षा ५ मा र अनमोल राई कक्षा ४ मा अध्ययनरत छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय