• २०८१ बैशाख २० बिहीबार

रवि लामिछानेद्वारा कान्तिपुरविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जती मुद्धा दायर गरेका छन् ।

कान्तिपुरले सहकारीको रकम हिनाबिनामा लामिछानेको संलग्नता रहेको आशयका समाचार प्रकाशित गरेपछि उनी त्यसको खण्डन गर्दै अदालत गएका हुन् । उनले काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेका हुन् ।

लामिछानेले आफु समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको बताउदै ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम नगरेको बताएका छन् । उनले आफुलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको बताएका छन् ।

लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर र पत्रिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

पछिल्लो समय कान्तिपुरले पोखरा, चितवन, बुटवल लगायतका सहकारीहरूमा सर्वसाधरणले जम्मा गरेको बचत ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईले कानुन विपरित चलाएर ठगी गरेका समाचार निरन्तर लेखिरहेको थियो । त्यसमा ग्यालेक्सीका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेको संलग्नता रहेको भन्दै समाचारहरू प्रकाशन गरेको थियो । लामिछानेले भने आफ्नो संलग्नता नरहेको भन्दै प्रतिवाद गर्दै आएका थिए ।

मुद्धा दायर गरेको जानकारी दिदै रविले भनेका छन्- 'एउटा  योद्धा  लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।
मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।'  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै