• २०८१ बैशाख १६ आइतबार

सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त

kharibot

सर्लाही। विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार) लाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।

वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।

वसन्तपञ्चमीको पूजामा सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले जिल्लाका कालिगड मूर्ति बनाउन व्यस्त भएका राजीव महतोले बताए। 

विद्यालयहरुमा सरस्वतीको मूर्तिको माग बढी भएकाले यहाँका कालिगड मूर्ति बनाउन व्यस्त रहेका उनको भनाइ थियो । 

मूर्तिको आकार हेरेर मूल्य तोकिने भए पनि एउटा मूर्तिलाई रू दुई हजारदेखि रू १४ हजारसम्ममा पर्ने कालिगड रामईश्वर पण्डितले बताए ।

गणेश पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजालगायत पर्वमा मूर्ति बेचेर करिब रू तीन लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।

“विशेष समयमा मूर्तिको माग बढी आउने भएकाले घरपरिवारका सबै सदस्य काममा लाग्ने गर्दछन्”, मूर्तिकार लक्ष्मी पण्डितले भने ।

उनका अनुसार सरस्वती पूजाका लागि यसअघिका वर्षभन्दा यस वर्ष बढी माग आएको छ । उनले वार्षिक रू तीन लाखसम्म आम्दानी हुने गरेको बताए । 

खासगरी कुमाल जातिको पुख्र्रौली पेसा भए पनि पछिल्लो समय समुदायका मानिसले पनि मूर्ति बनाउन थालेका स्थानीय इन्द्र न्यौपानेले बताए ।

उनका अनुसार अधिकांश  निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाका लागि मूर्ति बनाउन दुई महिना अघिदेखि कालिगडलाई सूचना दिने गरेका छन् । 

विद्यालय बाहिर टोलबस्तीमा गरिने पूजाको लागि भने पूजाको एकदिन अगाडि बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामथ्र्य अनुसार सरस्वतीको मूर्ति छानेर खरिद गर्ने गरिएको स्थानीयवासी गोविन्द अधिकारीले बताए । 

मूर्तिको आकार र प्रयोग गरिएका सामग्रीका आधारमा प्रतिमूर्ति रू दुई हजारदेखि रू १५ हजारसम्म मूल्य पर्ने कालिगड सञ्जय रायले बताए ।

यो  पेसाबाट आफु सन्तुष्ट रहेको भन्दै यसबाटै सहज रुपमा जीविकोपार्जन भइरहेको उनको भनाइ थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय