• २०८१ बैशाख १७ सोमबार

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो

kharibot

क्वालालम्पुर । मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ । 

अर्बौं डलरको १एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो । “राय र सल्लाहमाथि विचार गरेपछि क्षमा बोर्डले नजिब रजाकको सजाय र जरिवानामा ५० प्रतिशतले कटौती गर्ने फैसला गरेको छ”, विज्ञप्तिमा भनिएको छ । 

एक उत्तराधिकारीलाई सिंहासन हस्तान्तरण गर्नु दुई दिनअघि पूर्वराजा सुल्तान अब्दुल्लाको अध्यक्षतामा रहेको क्षमा बोर्डको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । बोर्डमा अन्य अधिकारीका साथै महान्यायाधिवक्ता पनि रहेका थिए । 

लामो सुनुवाइपछि नजिबलाई सन् २०२० मा पूर्व १एमडिबी एकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी बैंक खातामा चार करोड २० लाख रिङ्गिट (८९ लाख अमेरिकी डलर) को हस्तान्तरणमा सत्ताको दुरुपयोग, मनी लन्ड्रिङ र आपराधिक उल्लङ्घन गरेको दोषी पाइएको थियो । 

कारागार सजाय उल्ट्याउने उहाँको प्रयासलाई मुलुकको सर्वोच्च अदालतले खारेज गरेको थियो । सन् २००९ देखि सन् २०१८ सम्म प्रधानमन्त्री रहनुभएका ७० वर्षीय नजिबले निष्पक्ष सुनुवाइ नभएको दाबी गरेका थिए । उनले एक न्यायाधीशको स्वार्थको द्वन्द्व भएको र आफ्नो कानूनी टोलीलाई मुद्दाका कागजातहरू अध्ययन गर्न पर्याप्त समय नदिइएको आरोप लगाएका थिए । 

मलेसियाका राजनीतिक संरक्षक महाथिर मोहम्मदको विपक्षी गठबन्धनले सन् २०१८ को निर्वाचनमा घोटालाका आक्रोशका बिच उनलाई सत्ताबाट बाहिर पुर्याएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै