• २०८१ बैशाख १५ शनिबार

आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन जिल्ला अदालतको आदेश

kharibot

रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश जारी गरेको छ । मुद्दा प्रक्रिया सुरू भएको करिब ४ वर्षपछि न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।

सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरू अदालतमा उपस्थित हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन:पेशी तोकिनेछ ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। सोही  विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा करिब १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए ।

उनीमाथि १८ कार्त्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा 'विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरु,मा मुद्दा दायर भएको थियो। सो मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

उनी २०७६ कार्त्तिक २९ गतेदेखि थुनामै छन् । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनुमा पठाउने आदेश दिएपछि उनी सो  आदेशविरुद्ध उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाकै आदेश सदर गरिदिएको थियो ।

यमुनामाई गाउँपालिका-४ का त्रिलोकप्रताप सिंहका बाबु नारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम,उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख छ ।

मुद्दामा आलमसहित उनका भाइ मोहम्मद महताव आलम,शेख भदई,मोहम्मद मोविन आलम,शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई,गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै