• २०८१ बैशाख २५ मंगलबार

दुर्गा प्रसाईंको टिप्पणी- राप्रपासँग वार्ता हुदैन, रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ ?

kharibot

काठमाडौँ । दुर्गा प्रसाईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग वार्ता नगर्ने बताएका छन् । बुधबार पत्रकार समेलन गर्दै दुर्गा प्रसाईले राप्रपासँग कुनै किसिमको बार्ता नगर्ने बताएका हुन् ।

राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेण्डासहित भ्रष्टाचारविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंसँग बार्ता गर्न यसअघि राप्रपाले बार्ता समिति समेत बनाएको थियो ।

राप्रपाले उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्री डा धवलशमशेर राणाको नेतृत्वमा वार्ता समिति बनाएको थियो । यस अघि धवलशमशेर राणाले मंगलबार प्रसाईको घरमै पुगेर छलफल गरेका थिए । मंगलबारको छलफल सकारात्मक भएको भन्दै राणाले प्रसाईको कार्यक्रममा सहभागी हुन राप्रपाका कार्यकर्तालाई आव्हान समेत गरेका थिए ।

राप्रपाले वार्ता समिति बनाए पनि प्रसाईंले भने मंगलबारको कार्यक्रममा सहभागी नभएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रसाईंलाई बुधबार तपाइँ राप्रपामा जान लागेको हो ? भन्ने प्रश्नको जवाफमा प्रसाईले आफू राप्रपामा भित्रने कुरा कल्पनाबाहिरको कुरा भएको बताए । उनले राप्रपाका नेताहरुमाथि टिप्पणी गर्दै ‘रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ ?’ भनेका थिए ।

उनले भने- ‘दुर्गा प्रसाईं राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । म एमालेको केन्द्रीय सदस्य छँदै थिए नि । राप्रपाभन्दा त एमाले अलि गतिलो पार्टी हो नि ।’

प्रसाईले आफू राप्रपामा भित्रिनु त के राप्रपाका मान्छेसमेत आफ्नो आन्दोलनमा सहभागी नगराउने बताए । उनले भने- ‘राप्रपामा म भित्रिने त कुरै छाडिदिनुस् न । रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ ? वार्ता गर्न राप्रपासँग के छ ?’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विवादमा तान्न नचाहेको बताउदै गरिबहरूलाई बचाउने आफ्नो आन्दोलन भएकोले निरन्तर त्यसैमा केन्द्रित हुने बताए । 

अहिले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा, राप्रपा नेपाल र प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान छुट्टा छुट्टै सक्रिय रहेका छन् ।  प्रसाईले गत माघ १५ गते पूर्वराजासँग भेट गरेका थिए । उक्त भेटमा उनले पूर्वराजासँग आफ्नो अर्थपूर्ण संवाद भएको बताएका थिए । 

त्यस्तै राप्रपाले पनि हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डालाई लिएर आन्दोलनमा जाने तयारी गरेको छ । राप्रपाले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री प्रचण्डलाई फागुन ९ गते मागपत्र बुझाउदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै