• २०८१ बैशाख १५ शनिबार

अध्यक्ष प्रचण्डद्वारा सुझाव समेटेर विधान प्रस्तुत

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए । अध्यक्ष प्रचण्डले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो ।    

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ समूहबाट र आज सात टोलीबाट सुझाव प्रस्तुत गरिएको थियो । 

आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी समूहबाट खसआर्यलाई हटाउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरे । नेता प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउने गरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले संगठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गरे । 

नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र काम कारवाहीमा  एकरूपतामा राख्नुपर्ने सुझाव प्रस्तुत गरे । उनले समान पदमा दुई कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गरे ।

पार्टी केन्द्रीय सदस्य राजकाजी गुरूङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता आउनुपर्ने सुझाव पेश गरे । उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेश गरे ।

केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टीलाई प्रवलीकरण हो वा पुनःनिर्माण गर्ने हो यसलाई स्पष्ट पार्नुपर्ने सुझाव दिए । उनले निर्वाचनका लागि ठूला तहहरू हटाउनुपर्ने सुझाव दिए ।

केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेश गरे । विभिन्न आयोगलाई प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उहाँले विषयगत दक्षता भएकालाई समेटेर सङ्गठित गर्नुपर्ने व्यवस्था गनुपर्ने बताए ।

केन्द्रीय सदस्य सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ति सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको बताए । सङ्घीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने स्पष्ट गर्दै विभागहरु पनि विधानमै उल्लेख गर्नुपर्ने सुझाव पेश गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै