• २०८१ बैशाख १७ सोमबार

६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी

kharibot

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो । 

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उद्घाटन गरे । आयोजना निर्माण गर्न रु दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । आयोजना निर्माणमा रु ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए ।  

छवटा मुहानबाट सङ्कलन गरेर बस्तीसम्म पानी ल्याइएको हो । आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ । यहाँ १५ सङ्कलन ट्याङ्की र नौ वितरण ट्याङ्की निर्माण गरिएका छन् । गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको बताइन् । 

“स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्”, उपाध्यक्ष राईले भनिन् । चालू आर्थिक वर्ष २०८०÷८१ मा थप ८० परिवारको घरमा पानी  पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै