• २०८१ बैशाख १५ शनिबार

पदावधि सकिन लागेका २० सांसदको रातो पासपोर्ट फिर्ता मागियो

kharibot

काठमाडौँ । संघीय संसद् सचिवालयले बिदा हुन लागेका राष्ट्रिय सभाका २० सांसदबाट कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट फिर्ता मागेको छ । 

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्पर्क तथा सत्य शाखाले एक सूचना जारी गर्दै यही फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभाका सदस्यबाट राहदानी बुझाउन आग्रह गरेका छन् । 

उनले सूचनामा भनेका छन्–‘राहदानी नियमावली, २०७७ को नियम १८ (१) मा कूटनीतिक राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्तिले पदबाट अलग भएको एक महिनाभित्र कूटनीतिक राहदानी फिर्ता गर्नु पर्ने व्यवस्था रहेको माननीय सदस्यज्यूहरूको जानकारीका लागि अनुरोध गरिन्छ ।’

यही फागुन २० गते कार्यकाल समाप्त हुने संघीय संसद्, राष्ट्रिय सभाका सदस्यलाई आगामी चैत्र २० गतेभित्र कूटनीतिक राहदानी नियमबमोजिम राहदानी विभाग, त्रिपुरेश्वरमा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय संसद् सचिवालयमार्फत राहदानी फिर्ता गर्न चाहनेलाई आगामी चैत १९ गते भित्र संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा बुझाउन भनिएको छ ।

राष्ट्रिय सभाका २० जना सांसदको पदावधि फागुन २० गते आइतबारदेखि सकिन लागेको हो ।  उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत छन् । अहिले १९ जनाका लागि निर्वाचन भइसकेको छ भने एक जना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी रहेको छ ।

पदावधि सकिन लागेका सांसदमा नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नौ जना छन् । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ। एमालेका सांसद दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिंदै छ ।

त्यसैगरी नेपाली कांग्रेसका चार जना सांसदको पदावधि सकिंदै छ। जसमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ छन् । यस्तै, माओवादी केन्द्रका तीन जनाको पदावधि सकिंदै छ। विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिंदै छ । एकीकृत समाजवादीबाट नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिंदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै