• २०८१ बैशाख १८ मंगलबार

वैकल्पिक गठबन्धन बनाउन काँग्रेसको दौडधुप, कस्तो छ अंकगणित ?

kharibot

काठमाडौं । नेपाली कांग्रेस वैकल्पिक गठबन्धन बनाउन जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका दलहरुसँग नयाँ समीकरण बनाएपछि कांग्रेस वैकल्पिक गठबन्धन बनाउन जुटेको हो ।

यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले बुधबार बिहान पत्नी आरजु राणा र नेता रमेश लेखकसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वर पुगेर गरेको छलफल सकारात्मक भएको नेता लेखकले जानकारी दिएका छन् ।  सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन । ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।

मंगलबार भएको कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको छलफलमा गठबन्धन भत्किनुमा प्रमुख जिम्मेवार प्रधानमन्त्री प्रचण्ड नै रहेको निष्कर्षसहित सबै विकल्पमा जान प्रयास गर्ने निर्णय गरेको थियो । त्यसकै रणनीति अनुसार कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो ।

अहिले अहिले खासगरी कांग्रेस तीन विकल्पमा जुटेको छ । पहिलो विकल्पमा कांग्रेसले अहिले प्रचण्डले बनाएको एमाले र रास्वपासहितका दल बाहेक सबैलाई एक ठाउमा ल्याउने रहेको छ । जसमा राप्रपा, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा र राजमो रहेका छन् । यी दलहरु एक ठाउमा आउने अवस्था बनेमा बहुमतको लागि आवश्यक १३७ (हाल कायम रहेका सांसद सदस्य २७२ अनुसार) पुग्ने देखिन्छ । हाल कांग्रेसका ८७, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपा र नाउपाका ४-४ तथा राजमोका एक सांसद छन् । यी दलहरुको कुल १३८ सिट हुन्छ । यसमा २ स्वतन्त्र र एक प्रभु शाहको मत पनि निर्णायक हुनसक्ने देखिन्छ ।

त्यस्तै कांग्रेसको दोस्रो विकल्प रास्वपा सहितको विकल्प हो । रास्वपा वैकल्पिक गठबन्धनमा आएमा यो सङ्ख्य १६० को नजिक पुग्ने र बलियो सरकार बन्ने देखिन्छ । रास्वपाले अहिले कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै प्रचण्ड र ओलीसँग अर्थ र गृह मन्त्रालय मध्ये एक पाउने गरि बार्गेनिङ गरिरहेको छ । तर माओवादी र एमाले त्यो दिन तयार नदेखिएको अवस्थाको फाइदा कांग्रेसले लिनसक्ने बताइएको छ ।

त्यसैगरी कांग्रेसको तेस्रो विकल्प एमालेसँगको सहकार्य रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समयसम्म प्रचण्डलाई साथ नदिने काँग्रेसको बुझाई रहेको छ । अस्थीर रहेका प्रचण्डलाई प्रयोग गरेर एमालेले गठबन्धन भत्काउन सफल भएको र अब प्रचण्डलाई सरकार चलाउन स्वयं एमाले नै बाधक बन्ने कांग्रेसको विश्लेषण रहेको छ । कांग्रेसले एमालेका लागि ठोस प्रस्ताव दिन तयार भएमा एमालेले प्रचण्डको साथ छोड्न सक्ने समेत विश्लेषण गरिएको छ । २०४६ सालदेखिका सबै परिवर्तन र आन्दोलनहरुमा कांग्रेस र एमाले मिलेर अगाडी जादा देशका प्रमुख समस्या समाधान भएको पृष्ठभूमिमा अहिलेको राजनीतिक अस्थीरतालाई चिर्न र साना दलको रजाई र बार्गेनिङ अन्त्य गर्न कांग्रेस र एमाले मिल्नुपर्छ भन्नेहरुको ठुलो संख्या दुवै दलमा रहेका छन् । स्रोतका अनुसार कांग्रेस र एमालेका नेताहरुबीच अनौपचारिक रुपमा सहकार्यको छलफल भइरहेको बताइएको छ ।

यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डले चालेको कदम उनलाई नै ‘ब्याकफायर’ हुने सम्भावना प्रबल देखिएको छ । वैकल्पिक गठबन्धन बनाउन माधव नेपाल सकारात्मक देखिनु, जसपा प्रचण्ड सरकारलाई साथ दिन निर्णयमा पुग्न नसक्नु र रास्वपाको बार्गेनिङ पावर अझ बढ्नुले नयाँ गठबन्धन जन्मेसँगै संकटमा परेको जस्तो देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै